- नरहरि पौड्याल
मनोनयन दर्ता गरेका उमेद्वारहरुले नाम फिर्ता लिन निर्वाचन तालिका अनुसार बिहीबार दिउँसो १ देखि ५ बजेसम्मको अवधिमा एक मेयर र १० वडाध्यक्षका उम्मेदवारसहित २२ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
निर्वाचन कार्यलयका अनुसार सदस्य पदका ६, महिला सदस्यका ३ र दलित महिला सदस्य पदमा मनोनयन दर्ता गराएका २ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
महानगरको मेयरमा माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिएका विश्वप्रकाश लामिछानेले उम्मेदवारी फिर्ता लिएका छन्। केन्द्रमा भएको सहमति अनुसार महानगरको मेयरमा कांग्रेसको उम्मेदवारलाई जिताउने गरी लामिछानेले उम्मेदवारी फिर्ता लिएका हुन्।
त्यसैगरी अखण्ड नेपाल पार्टीको तर्फबाट वडा नम्बर १६ को अध्यक्षमा उम्मेदवारी दिएका होमबहादुर खड्का र ३० नम्बर वडाध्यक्षमा उम्मेदवारी दिएका मोहन बहादुर थापा, २५ नम्बर वडा अध्यक्षमा उम्मेदवारी दिएका अम्बरबहादुर थापाले उम्मेदवारी फिर्ता गरेका छन्। वडा नम्बर १२ को अध्यक्षमा राप्रपाबाट मनोनयन दर्ता गराएका खड्ग बहादुर लाभाजु र संघीय समाजवादी फोरमको तर्फबाट वडानम्बर ३० को अध्यक्षमा उम्मेदवारी दिएका पूर्णसिंह गुरुङले पनि उम्मेदवारी फिर्ता लिएका छन्।
स्वतन्त्र उम्मेदवारको रुपमा वडा नम्बर ६ को अध्यक्षमा मनोनयन दर्ता गराएका गिरीराज अधिकारी, ३३ का भीम बहादुर सार्की, २१ का रघुनाथ पराजुली, ३१ का उमानाथ तिवारी र वडा नम्बर ३३ को अध्यक्षमा उम्मेदवारी दिएका विष्णुप्रसाद आचार्यले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचन तालिका अनुसार निर्वाचन आयोगले उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गर्नेछ। पहिलो चरणको निर्वाचन कार्यक्रमानुसार शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ।