PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

महाभियोग प्रस्ताव संसद्‍मा टेबल भएपछि प्रतिपक्षी गठबन्धनको बैठक, अवरोध जारी राख्ने निर्णय



मनोज सत्याल

महाभियोग प्रस्ताव संसद्‍मा टेबल भएपछि प्रतिपक्षी गठबन्धनको बैठक, अवरोध जारी राख्ने निर्णय

काठमाडौँ : एमालेसहित प्रतिपक्षीहरुको विरोधका बीच सभामुख ओनसरी घर्तीले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्‍का २४९ सांसदले दर्ता गरेको महाभियोगको सूचनासम्बन्धी प्रस्ताव संसद्‍मा टेबल गरेपछि प्रतिपक्षी गठबन्धनको बैठक संसद् परिसरमा बसेको छ। 

बैठकले अवरोधका बीच जबर्जस्ती महाभियोग प्रस्तावलाई अघि बढाइएकोमा घोर भत्सर्ना गर्दै विरोध र अवरोधलाई निरन्तर अगाडि बढाउने 
निर्णय गरेको छ। 

एमालेसहित विपक्षीहरुले सुरुमा उठेर र त्यसपछि नाराबाजीसहित वेल घेराउ गर्दागर्दै जम्मा २ मिनेट चानचुन समयको बैठकमा सभामुख ओनसरी घर्तीले महाभियोग प्रस्ताव संसद्‍मा टेबल भएको घोषणा गरेकी थिइन्।

त्यस लगत्तै उनले महाभियोग प्रस्तावमा छलफलका लागि आजै दिउँसो १ बजे अर्को बैठकको समय तोकेर बैठक स्थगित गरिदिएकी थिइन्। 

आजको बैठकमा एमाले अध्यक्ष केपी ओली अनुपस्थित थिए। भर्खरै सरकारबाट बाहिरिएको राप्रपाका सांसदहरु प्रतिपक्षी बेञ्चमा थिए।

महाभियोग प्रस्तावको विरोधमा कमल थापा अध्यक्ष रहेको राप्रपा र उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरम पनि रहे पनि प्रतिपक्षी गठबन्धनको बैठकमा भने उनीहरु सहभागी भएनन्।  

सभामुखले प्रस्ताव टेबल भएको जानकारी दिइरहँदा पूर्व सभामुख सुवास नेम्वाङ, वामदेव गौतमसहितका एमाले सांसदहरु नाराबाजीका साथ वेल घेराउ गर्न गएका थिए।

हेर्नुस् भिडियो-
 

प्रस्ताव संसद्‍को बैठकमा टेबल गर्ने विषयमा सत्तारुढ र प्रतिपक्षी दलहरुबीच दुरी बढेपछि घर्तीले बिहीबारको संसद्‍ बैठक सूचना टाँस गरेर स्थगित गरेकी थिइन्। 

सभामुख घर्तीले दलहरुबीच महाभियोग अगाडि बढाउने र फिर्ता लिने विवाद बढेपछि प्रमुख दलका शीर्ष नेताहरुलाई शुक्रबार बिहान छलफलका लागि डाकेकी थिइन्। तर त्यहाँ पनि सहमति जुट्न सकेन। 

संसद्‍मा महाभियोग दर्ता भएको सात दिनभित्र सभामुखले छलफलको मिति तोकिसक्नु पर्ने प्रावधान छ। 

तर एमालेले त्यही सात दिनको म्याद अवरोध गरेर गुजारीदिने र प्रश्न खडा गर्ने रणनीति बनाएको छ । महाभियोग दर्ता भएको शुक्रबार छैठौँ दिन पुगेको छ।

संसदको कार्यसूचीमा संविधान संशोधनको विषय हटेको छ भने महाभियोगको विषयले स्थान पाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell