
काठमाडौं : कांग्रेस र माओवादी केन्द्रबीच दुई महानगरसहित सात नगरमा तालमेल भएको छ। जसमध्ये पाँच स्थान कांग्रेसले लिएको छ भने दुई स्थानमाओवादी केन्द्रले लिएको छ।
दुई महानगरपालिकामा एक-एकका नेतृत्व लिनेगरी तालमेल गरेका कांग्रेस माओवादीले बाँकी एक उपमहानगरपालिका र चार नगरपालिका मध्ये एक स्थानमा मात्र माओवादी केन्द्रले र बाँकी सबै चार स्थानमा कांग्रेसले नैतृत्व लिनेगरी तालमेल भएको छ।
नेपाली कांग्रेसको निर्वाचन प्रचार उपसमितिले पत्रकार सम्मेलन गरी तालमेलबारे औपचारिक जानकारी गराएको हो।
दुई दलबीचको भएको चुनावी तालमेल अनुसार कास्कीको लेखनाथ महानगरपालिकाको मेयरमा कांग्रेसका रामजी कुँवर दुवै दलको साझा उम्मेदवार बनेका छन् भने उपमेयरसहित अन्य पदमा अन्य पदमा तालमेल भएको छैन।
यस्तै चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुत्री रेणु दाहाल कांग्रेस-माओवादी केन्द्रकी साझा उम्मेदवार बनेकी छन् भने उपमेयरमा कांग्रेसकी पार्वती शाह दुई दलकी साझा उम्मेद्वार बनेकी छन्। वडाध्यक्षसहित अन्य पदमा भने तालमेल भएको छैन।
यस्तै मकवानपुरको हेटौडा उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका आनन्दराज पराजुली कांग्रेस–माओवादी केन्द्रका साझा उम्मदेवार बनेका छन् भने उपमेयरमा माओवादी केन्द्रका बलराम बल दुवै दलको साझा उम्मेदवार बनेका छन्।
मकवानपुरकै थाहा नगरपालिकामा माओवादी केन्द्रका लवशेर विष्ट कांग्रेस–माओवादी केन्द्रकी साझा उम्मेद्वार बनेका छन् भने उपमेयरमा कांग्रेसका कर्मा नेपाली दुई दलको साझा उम्मेदवार बनेका छन्।
धादिङको निलकण्ठ नगरपालिकामा कांग्रेसका भीम ढुंगाना कांग्रेस-माओवादी गठबन्धनका साझा मेयरका उम्मेदवार बनेका छन् भने माओवादीका शैलेस भण्डारी उपमेयरमा दुवै दलको साझा उम्मेदवार बनेका छन्।
दोलखाको भीमेश्वर नगरपालिकामा कांग्रेसका ईश्वर मानन्धरलाई कांग्रेस–माओवादी गठबन्धनका साझा उम्मेदवार बनाइएको छ भने माओवादी केन्द्रकी कमला कार्की उपमेयरमा दुवै दलको साझा उम्मेद्वार बनेकी छन्।
यस्तै डोल्पाको ठूली भेरी नगरपालिकामा कांग्रेसका सुवर्ण कुमार मेयरमा कांग्रेस–माओवादी केन्द्रका साझा उम्मेदवार बनेका छन् भने माओवादी नेतृ लक्ष्मी कार्की उपमेयरमा साझा उम्मेदवार बनेकी छन्।
'उम्मेदवारी फिर्ता लिने समय हिजो नै सकिएको छ, केही फिर्ता भएका छन् केहीमा अझै पनि समस्या देखिएको छ,' चितवनको भरतपुर महानगरतर्फ संकेत गर्दै उपसमिति संयोजक रमेश लेखकले भने, 'त्यहाँ फिर्ता लिनु भएन भने स्वत: कारबाही हुने निर्णय पार्टीले गरेको छ, तपाईँ कारबाहीमा पर्नुहुन्छ।' उनले बाँकी उम्मेदवारलाई पार्टीको निर्णय अनुसार गर्न पनि आग्रह गरे।