PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

नागरिक उड्ययन प्राधिकरणका उपसचिव ४० तोला सुनसहित विमानस्थलबाट पक्राउ



उमेश पौडेल

नागरिक उड्ययन प्राधिकरणका उपसचिव ४० तोला सुनसहित विमानस्थलबाट पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी गरेर ल्याउँदै गरेको ४० तोला (४६६ ग्राम) सुनसहित नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी पक्राउ परेका छन्। उपसचिव स्तरका कर्मचारी किशोरकुमार खत्री पक्राउ परेको विमानस्थल कार्यालयका भन्सार प्रमुख नारायणप्रसाद सापकोटाले बताए। उनी प्राधिकरणको एयर ट्राफिक कन्ट्रोलर कर्मचारी हुन् र उनीसँग विमानस्थलको सबै स्थानमा पुग्ने पास हुन्छ।

भन्सार कार्यालयले खत्रीलाई प्रहरीले कतार एयरवेजको उडानबाट दोहा हुँदै काठमाडौं आएका मनिष रिमालले ल्याएको उक्त परिमाणको सुन रिसिभ गरेर फर्किँदै गर्दा प्रक्राउ गरेको हो।

एयर ट्राफिक कन्ट्रोलमा काम गर्ने खत्री रिमाललाई रिसिभ गर्न धावानमार्गमै पुगेपछि भन्सारको सुराकी टोलीले उनीमाथि सुराकी बढाएको थियो। शंका लागेपछि उनलाई पछ्याउँदै गएको टोलीले एक्स रे मेसिनसम्म पिछा गरेको थियो। मेसिनले त्यहाँ चार टुक्रामा विभाजन गरेर ल्याइएको धातु देखाएको र जाँच गर्दा सुन भेट्टिएपछि उनी पक्राउ परेको सापकोटाले बताए।

सुनसहित पक्राउ परेपछि भन्सारले रिमाल र खत्री दुवैलाई नियन्त्रणमा लिएको छ। आज भन्सारस्थित प्रहरीको कस्टडीमा रहने र भोलिदेखि उनीहरुमाथि अनुसन्धान गरिने सापकोटाले बताए।

भन्सारले सुनसहित विमानस्थलका उच्च कर्मचारी पक्राउ परेपछि यसको नेपाल र विदेशमा तस्करीको सञ्जाल हुनसक्ने भन्दै विस्तृत अनुसन्धान गरिने बताएको छ।

भन्सार ऐन अनुसार उनलाई भन्सार कार्यालयले विगो जफत गर्ने, विगो अनुसारको जरिवाना र एक महिना कैद हुने प्रावधान रहेको छ। ऐनले भन्सारलाई २५ दिनसम्म नियन्त्रणमा लिएर अनुसन्धान गर्ने अधिकार दिएका कारण प्रहरीको सहयोगमा अनुसन्धान अगाडि बढाउने सापकोटाले बताए।

त्यस्तै प्राधिकरणका आठौं तहका कर्मचारी किन र कसरी त्यस्तो कार्यमा लागे भनेर नागरिक उड्ययन प्राधिकरणले पनि छानविन गर्ने भएको छ। विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले तत्कालका लागि उनी निलम्बनमा परेको र ट्राफिक कन्ट्रोलरका व्यक्ति किन धावनमार्गमा पुगे भनेर अनुसन्धान गरिने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell