
उत्तर कोरियाले अमेरिकाको गुप्तचर एजेन्सी ‘सीआइए’ माथि उत्तर कोरियाका नेता किम जोन उनको हत्या गर्ने योजना बनाएको आरोप लगाएको छ।
सीआइएले बायोकेमिकल अथवा जैविक रासायनिक पदार्थबाट किम जोन उनको हत्या गर्ने योजना बनाइरहेको उत्तर कोरियाले बताएको हो।
उत्तर कोरियाका सरकारी मिडियाका अनुसार अमेरिकी र दक्षिण कोरियाली प्रतिनिधिले किम जोन उनको हत्याको योजना बनाइरहेका हुन्।
उत्तर कोरियाको सुरक्षा मन्त्रालयको एक बयानमा भनिएको छ, सीआइए र दक्षिण कोरियाको समर्थक एक चरमपन्थी संगठनले जैविक रासायनिक पदार्थबाट हमला गर्नको लागि उत्तर कोरिया प्रवेश गरेको हो। उक्त बयानमा भनिएको छ, ती चरमपन्थीहरुलार्इ खोजेर कडा सजाए दिइनेछ।
उत्तर कोरियाको समाचार एजेन्सी किसीएनएका अनुसार यस योजनामा जैविक रासायनिक पदार्थमा रेडियोधर्मी पदार्थ र न्यानो सबस्टेन्सको प्रयोग पनि समावेश गरिएको छ। साथै भनिएको छ किम जोन उनलार्इ सैन्य परेड र सार्वजनिक कार्यक्रममा निसाना बनाउन सकिन्छ। यसको असर भने ६ देखि १२ महिला पछिबाट मात्र देखिनेछ।
अमेरिकासँग तनाब कायमै
उत्तर कोरियाले छैठौँ परमाणु परीक्षणको धम्की दिएपछि अमेरिका र उत्तर कोरियाको विवाद अझै चुलिएको छ। उत्तर कोरियासँग विवाद बढिरहेकै बेला अमेरिकी सेनाले आफ्नो विवादित थाड मिसाइल डिफेन्स सिस्टमलार्इ दक्षिण कोरियामा तैनाथ गरिरहेको छ।
डिफेन्स सिस्टमले उत्तर कोरियाका मिसाइललार्इ रोक्न आफू सक्षम रहेको अमेरिकाको भनाइ छ।
पछिल्लो केही महिनामा उत्तर कोरियाले लगातार परमाणु हमलाको चेतावनी दिइरहेको र अमेरिकाले आफ्नो युद्धपोत र पन्डुब्बीहरु पनि उक्त इलाकामा तैनाथ गरेको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका राष्ट्रपति किम जोन उनसँग उपयुक्त परिस्थितिमा भेटेर सम्मानित महसुस गर्ने धारणा राखिसकेका छन्।
(बिबीसी हिन्दीबाट)