PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कान्तिपुर गाथा : अदालतमा कनिका 



किशोर नेपाल

कान्तिपुर गाथा : अदालतमा कनिका 

चुनाव गतिविधिको रिपोर्टिङमा लागेकी कनिकाको भागमा चुनावको प्रसंगमा मिसिएर आएको संवैधानिक महत्वको अदालती राजनीति पनि थपिएको छ। राजनीतिमा अनेकौं बढ्दो गतिविधि देखेर कनिकालाई बडो रमाइलोे लागेको छ। तीन–चार दिनअघि सर्वोच्च अदालतका प्रधान न्यायाधीशविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भो। त्यो प्रस्तावमा शुक्रवार संसदमा बहस हुनपर्ने थियो। तर, त्यो बहस हुन दिइएन। त्यसको विपरीत सर्वोच्च अदालतले प्रधान न्यायाधीशविरुद्ध त्यो महाभियोग नलगाउनु भनेर कार्कीको निलम्बन खारेज गर्दै आदेश जारी गर्‍यो। त्यो आदेश संविधानको कुन धारा वा कुन बुँदा वा केको आधारमा जारी भयो? कनिकालाई यो विषयमा थाहा थिएन।

ऊ कानूनविदसँग यसबारे सोध्न खोज्दै थिइ। तर, कोसँग सोध्ने? ऊ अन्योलमा थिइ। कुनै पनि कानून व्यवसायीले कानूनी आधारमा जवाफ देलान् भन्ने विश्वास कनिकालाई थिएन। कानून व्यवसायीले पनि आफनो पार्टीको हित हुने हिसाबले जवाफ दिने चलन छ नेपालमा। यो देशमा निष्पक्षताको माग धेरै हुन्छ। तर त्यो निष्पक्षताको प्रयोग आफनो पक्षमा होस् भन्ने चाहना राखेको हुन्छ मानिसले।
 
यस बीच प्रधान न्यायाधीश सुशीला कार्कीका पक्ष र विपक्षमा सामाजिक सन्जाल पूरै रंगियो। सुशीला कार्कीको वन्दनामा हजारौं कविता लेखियो। गीत रचियो। दोहोरी गाइयो। फेसबुक रंगाइयो। उनी रातारात काली माता र दुर्गा भवानी भइन्। आफैलाई थाहा नभएका अनेकन गुणहरुले उनी विभूषित भएकी थिइन्। यो पूरै देश उनको चरणमा सुरक्षित थियो। उनको गुणको तारिफ गर्दागर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महिषासुरका रुपमा चित्रण गरिएका थिए। कांग्रेस र माओवादी मूर्दावादका नारा त कति लागे लागे। प्रकटमा सुशीला कार्कीको यो महिमा–मण्डन अप्रत्यक्ष रुपमा सरकार विरोधी समूहकोे घोषणापत्र जस्तो थियो। 

कनिकाका लागि यो अनुभव अदभूत र नयाँ थियो। ऊ जन्मिँदा ताक देशमा चुनाव भएको थियो। त्यसपछि अहिले नै हो ऊ रिपोेर्टरका रुपमा चुनावमा होमिएकी छ। कनिका जति जति सामाजिक सन्जालमा डुव्थी त्यति त्यति उसलाई रमाइलो लाग्दथ्यो। नयाँ नयाँ शव्दको ज्ञान, नयाँ नयाँ विषयसँगको संगत। उसलाई लागेको थियो, नेपालमा सरकारको खिल्ली उडाउनेहरुको संख्या सरकार चलाउनेको संख्याभन्दा बढी छ। नभए पनि त्यस्तो देखिन्छ। समाचारपत्रहरु सत्य र न्यायका प्रवक्ता जस्ता छन्। उनीहरुमा समाचारको भन्दा राजनीतिको समझ बढी छ।
 
कनिका फिल्डमा गइ। त्यहाँ उसले एकजना भलादमीसँग प्रश्न गरी, ‘यो अदालत र सरकारको विवाद कस्तो लाग्यो?

ती भलादमीले जवाफ दिए, ‘कस्तो लाग्नु नि। त्यो पर्चण्डे र शेरे हुन् सबै विगार्ने। अब त्यति राम्री म्याडमलाई प्रधान न्यायाधीशबाट किन हटाउनु परेको थियो? ती सिलवाल त्यस्ता राम्रा मान्छे थिए। म्याडमलाई नहटाएको भए ती आइजी बन्ने थिए। हाम्रो त नाता सम्बन्ध थियो। उनी आइजी भएको भए मेरो माइलाको प्रमोशन पक्का थियो।’

त्यसपछि कनिकाले समाती एउटा तन्नेरी वकीललाई र प्रधान न्यायाधीश प्रकरणमा प्रश्न सोधी। उसले जवाफ दियो, ‘हेर्नुहोस् पत्रकार बहिनी, हामीलाई त यो मामिलामा केही नबोल्नु भन्ने निर्देशन छ नेपाल बार एशोसियसनबाट। हामी त चूप। तैपनि, सोधी हाल्नु भो। हेर्नुहोस, हामी सबै ठूला, सबै ज्ञानी। हामी जत्ति जान्ने कोही छैन। हाम्रो यही विचारले देश बन्न नसकेको हो। यो देशमा गणतन्त्र आएपछिको समयमा एकजना पनि गतिलो मानिस सर्वोच्च अदालतको न्यायाधीश र प्रधान न्यायाधीश बनेको छैन। औपचारिक रुपमा मुखले सवै न्यायाधीशको मान राखिन्छ। तर, मनै देखि श्रध्दा उत्पन्न हुने एउटै पात्र पनि न्यायाधीश वा प्रधान न्यायाधीशको पदमा स्थापित भएको छैन। सुशीला श्रीमानको कुरा गर्ने हो भने उहाँ प्रधान न्यायाधीश भएपछि बार र बेन्चका बीच तीन महिनासम्म बोलचाल बन्द थियो।’

न्यायालयको कथा जति ताने पनि तान्न सकिन्थ्यो। कनिकाले सोची, यति भए पुग्छ । यो पनि एउटा सामान्य समाचार भन्दा ठूलो समाचार होइन। ऊ अफिस फर्की र लेख्न थाली। समाचारलाई सकेसम्म रोचक बनाउने कोशिश गरी। तर, ऊ जति गहिराइमा जान खोज्थी, समाचार सतहमा तैरन्थ्यो। पानी निथारिएको रानीपोखरीको किनाराको उदासी जस्तो। समाचार लेखेर इलस्ट्रेशन र अपलोड सेक्सनमा ट्रान्सफर गरी। त्यसपछि सिगरेट पिउन कौशीतिर उक्लिइ। सुदिप्ती र शरन पनि त्यही सिगरेट तानी रहेका थिए। साँझ पर्नपर्न खोज्दै थियो । दिन लामो भएकोले सूर्य अझै अस्ताएको थिएन। सुदिप्तीले प्रस्ताव गरी, ‘हिंड बारमा जाऔं।’

उनीहरु विस्तारै रोडहाउस बारतिर लागे ।

 

(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा)


यो सिरिजका थप गाथा
कान्तिपुर गाथा : कनिकाको मधेश यात्रा
कान्तिपुर मेयरमा बाबुराम

कनिकाको नयाँ वर्ष

महाराज महारानीको भोजमा राष्ट्रपति ​

चुनावी चक्रव्यूहमा कनिका
कान्तिपुर गाथा : भ्रममा रमाएका न्यायमूर्तिहरु
किन डराएका छन् देशका पत्रकार?
सुन, पुलिस, गीत र गुण्डाको सिक्वेल
भ्यालेन्टाइन किसको सोसल रियाक्सन
अशान्त कान्तिपुरका केही छिद्रहरु
डस्टमाण्डूमा जारी छ चमत्कार
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell