- राजेन्द्र थापा

थाहा छ सबैलाई यहाँ हावामा जहर छ
अन्त जानू कता आफ्नो भन्नु नै यै सहर छ
लौ न डुङ्गा डुब्यो घाटमा लगाउँदै गर्दा
मझ्धार आज शान्त छ किनारमा लहर छ
नआत्तिनु पर्यटक भूकम्प आ'छैन अैले
पुरानै भूकम्पको अैलेसम्मै खन्डहर छ
सुख्खा भो भन्दै कसरी माग्ने राहत किसानले
पानी नभए पनि यहाँ सरकारी नहर छ
गोली नखा'को घर खै, बक्सा नगा'को गाउँ खै?
अझै यो देशमा मान्छेको बाँच्ने रहर छ।