PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

तीन वर्षमा कुद्ला त मेट्रो रेल? महानगर मेयर उम्मेदवारका रेल सपना यस्ता छन्



अमर बडुवाल

तीन वर्षमा कुद्ला त मेट्रो रेल? महानगर मेयर उम्मेदवारका रेल सपना यस्ता छन्

काठमाडौं : स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरी विभिन्न राजनीतिक दल तथा तिनका उम्मेदवारहरुले चुनावी घोषणाहरु सार्वजनिक गरेका छन्।

यसै क्रममा काठमाडौं महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले ३ वर्षमा मेट्रो रेल सञ्चालन गर्ने घोषणा गरेका छन्। 

त्यसै गरी नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार राजुराज जोशीले पनि ५ वर्षभित्र मेट्रो रेल चलाउने घोषणा गरेका छन्। 
 
विवेकशील पार्टीबाट मेयरकी उम्मेदवार बनेकी रञ्जु दर्शनाले पनि ढिलो-चाँडो मेट्रो रेलको सपना देखेकी छिन् तर समयसीमा भने तोकेकी छैनन्। 

यसरी रेल सपना देखाउनेहरुमा साना-ठूला सबै राजनीतिक दलका उम्मेदवारहरु छन्। सामान्य कुरा पनि नबुझेरै ‘३ वर्षमा मेट्रो रेल’ भन्दै सपना बाँडेका उम्मेदवारले हाम्रो देशको व्यवस्थाअनुसार दुई वर्षअघि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत बनाउन नसकिने यथार्थसमेत मतलव गरेनन्। 

यता रेल विभागका प्रवक्ता प्रकाश उपाध्यायले नेपालमा छ महिना कन्सल्ट्यान्ट नियुक्त गर्न र डेढ वर्ष डिपिआर गर्न समय लाग्ने बताएका छन्। 

हचुवाको तालमा रेल सपना देखाएको भन्दै विज्ञले समेत उम्मेद्वारहरुलाई व्यंग्य गरेका छन्। ‘विश्वमै समय र लागत दुवैमा अगाडिनै काम सकेको दिल्ली मेट्रोको पनि पहिलो लाइन तयार पार्न सम्भाव्यता अध्ययन सुरु गरेको मितिले ७ वर्ष लागेको थियो, पूर्वाधार विज्ञ सूर्यराज आचार्यले भने- 'नेपालमा तीन वर्षमा रेल कुदाउनेभन्दा कसरी पत्याउनु?’ 
 
सन् १९९५ मा अध्ययन सुरु गरेको दिल्ली मेट्रोले २००२ मा पहिलो लाइनअन्तर्गत ६५ किलोमिटर रेल सञ्चालन गरेको थियो। ‘विश्वका कुनै पनि देशमा मेट्रो रेल न त अनुमानित बजेटमा बनेका छन्, न त अनुमानित समयमा नै सकिएका छन्। दिल्ली मेट्रो मात्र अपवाद हो', उनले भने- 'यदि दिल्ली मेट्रोको जसरी नै काम गर्ने ठेकेदार कम्पनी पाइयो भने पनि नेपालमा २०८०/०८२ सालभन्दा अघि मेट्रो रेलको सम्भावना छैन।' 
 
मेट्रो रेल बनाउने एजेण्डा मेयर नभइ सरकारकै हुनुपर्ने उनको भनाइ छ। ‘मेयरले त पहलकदमी मात्र गर्ने हो, विश्वमा कहीँ पनि सम्भव नभएको कुरा नेपालमा कसरी सम्भव हुन्छ? उनको प्रश्न छ- तीन वर्षमा मेट्रो रेल बनाउने घोषणा गरेर चुनावमा जानु भनेको गैर जिम्मेवार अभिव्यक्ति मात्र हो।’ राजनीतिक प्रतिवद्धता र प्राविधिक शक्ति नभएको देशमा तीन वा पाँच वर्षमा मेट्रो चलाउँछु भन्नु सरासर जनता झुक्याउने अभिव्यक्ति भएको उनको भनाइ छ। 
 
भारतको दिल्लीमा लक्षअनुरुप काम भए पनि अरु सहरमा मेट्रो निर्माणमा धेरै ढिला भएको दृष्टान्त आचार्यसँग छन्। सन् १९८० मा पाँच वर्षभित्र सक्ने लक्ष साथ कलकत्ता मेट्रो रेल आयोजना सुरु भएको थियो। तर, आयोजनाको काम हुन २० वर्ष समय लाग्यो। लागत पनि ५ गुणा धेरै लागेको थियो। 
 
मेट्रो रेल निर्माण सबैभन्दा जटिल पूर्वाधार विकासमा पर्छ। नेपालजस्तो भूगोल भएको देशमा यो अझ कठिन हुने विज्ञको भनाइ छ। ‘डिपिआर तयार भइसकेको अवस्थामा कुनै उम्मेदवारले तीन या पाँच वर्षमा मेट्रो रेल बनाउने सपना देखाएको भए पत्याउने आधार हुन्थ्यो’ उनी भन्छन्।
 
कति खर्च लाग्छ मेट्रो रेल चलाउन? 
मेट्रो रेल जमिनमुनी या सतहभन्दा माथि निर्माण गरिन्छ। व्यस्त सहरमा सतहमा अरु काम हुन सकोस् भनेर मेट्रो रेल तल या माथि बनाइएको हो। जमिनमा पिलर गाडेर माथि कुद्ने मेट्रो निर्माण गर्दा प्रति किलोमिटर लागत पाँच अर्ब रुपैयाँ पर्ने आचार्यको अनुभव छ। अण्डर ग्राउन्ड मेट्रो बनाउन भने प्रतिकिलोमिटर १० देखि १५ अर्ब रुपैयाँ खर्च हुने उनी बताउँछन्। चालु आर्थिक वर्षको काठमाडौं महानगरको बजेट तीन अर्ब ६६ करोड रुपैयाँ छ। यसरी महानगरको अहिलेको वार्षिक बजेटले एक किलोमिटर 'ओभरहेड मेट्रो' समेत निर्माण हुन नसक्ने देखिएको छ। 

मेट्रो सञ्चालन गर्दा एक किलोमिटर मात्र निर्माण गरेर पुग्दैन। कम्तीमा २० किलोमिटरको एउटा लाइन बनाउँदा पनि एक खर्ब रुपैयाँ हाराहारी लगानी आवश्यक पर्छ। जुन महानगरको बजेटले धान्दैन। त्यसैले मेयर उम्मेदवारले देखाएको मेट्रो सपना ‘गफ’ मै सीमित हुने देखिन्छ। 

उपत्यकामा करिब ७८ किलोमिटर मेट्रो रेल चलाउने सरकारले घोषणा गरिसकेको छ। यो सबै रेल मार्ग सडकमाथि नै बनाउने हो भने पनि चारदेखि पाँच खर्ब रुपैयाँ खर्च लाग्नेछ। जुन अहिलेको नेपालको बार्षिक बजेटको करिब आधा हो। 
 
समय लम्बिँदै जाँदा प्रतिकिलोमिटर लागत पनि महङ्गो पर्ने रेल विभागका प्रवक्ता प्रकाश उपाध्यायको भनाइ छ। 

दिल्ली मेट्रो जसरी  तीब्र काम गर्दा पनि सात वर्षअघि मेट्रो रेल निर्माण सम्भव नहुने अवस्था त छँदैछ। 

रेल विभागका इन्जिनियर नवराज भट्ट मेट्रो रेलभन्दा मोनो रेल सञ्चालन गर्न समय र लागतको हिसाबले सहज हुने बताउँछन्। मोनो रेल एउटा लिकमा मात्र गुड्ने, विस्तारै गुड्ने र थोरै यात्रु बोक्ने भएकाले सानो प्रोजेक्ट हो। मेट्रो रेल मोनो रेलको तुलनामा धेरै ठूलो प्रोजेक्ट हो। 

सरकारले महानगरमा मेट्रो रेल निर्माणको घोषणा गरिसकेको हुँदा उम्मेदवारले चर्चाका लागि उक्त विषयलाई चुनावी नारा नबनाएको भए उचित हुने उनी बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell