PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

झलनाथपुत्रको कम्पनीले थाल्यो भैरहवा विमानस्थलको ठेक्का पाएको चिनियाँ कम्पनी हटाउने चलखेल



उमेश पौडेल

झलनाथपुत्रको कम्पनीले थाल्यो भैरहवा विमानस्थलको ठेक्का पाएको चिनियाँ कम्पनी हटाउने चलखेल

काठमाडौं : भैरहवा विमानस्थल निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीलार्इ 'चेपुवा'मा पारेर हटाउने चलखेल सुरु भएको छ। नेकपा एमालेका नेता झलनाथ खनालका छोराको कम्पनी 'नर्थवेष्ट डेभलपमेन्ट नेपाल इन्फ्रा'लार्इ ‘सब कन्ट्रयाक्टर’बाट चिनियाँ कम्पनीले हटाएपछि ठेक्का रद्द गर्न चलखेल सुरु भएको हो। 

नागरिक उड्ययन प्राधिकरण र एमालेका केही नेताको दबाबमा चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएसन एयरर्पोट कन्स्ट्रक्सनलार्इ हटाउन लागिएको हो। आयोजनाका लागि कबुल गरे बमोजिमको निर्माण सामग्री उपलब्ध नगराएपछि झलनाथ पुत्र निर्भिक चित्रकार खनालको कम्पनीलाई गत महिना ‘सब कन्ट्र्याक्टर’बाट हटाइएको थियो।

भैरहवा विमानस्थलको प्रमुख दातृ संस्था एसियाली विकास बैंक (एडीबी)ले नै निर्भिकको कम्पनीलार्इ हटाउन पत्र लेखेको थियो। खनालको कम्पनीलार्इ हटाएपछि त्यही समूहको असहयोगका कारण चिनियाँ कम्पनीले काम गर्न सकेको छैन। चिनियाँ कम्पनीले आवश्यक समन्वय नभएको र सुरक्षाको प्रत्याभूति नभएको जानकारी दिएको छ। तर, कम्पनीको गुनासोप्रति वास्ता नगरी स्थानीय प्रशासन र नागरिक उड्ययन प्राधिकरणले आयोजनाको काम सुस्त भएको भन्दै हटाउने चेतावनीसहितको पत्र पठाएका छन्।

निर्धारित समयभित्र विमानस्थल नबनाएको भन्दै प्राधिकरणले चिनियाँ कम्पनीलार्इ छैठौं पटक चेतावनी पत्र 'नोटिस टु करेक्ट' दिएको छ। 

भैरहवा विमानस्थल कार्यालय प्रमुख ओम शर्माले नेपाली सब कन्ट्रयाक्टरबाट छुट्टिएपछि चिनियाँ कम्पनीले लक्षित योजनाअनुसार काम गर्न नसकेको बताउँदै ठेक्का तोड्ने मनस्थितिमा पुगेको बताए। उनले चिनियाँ कम्पनीलाई निरन्तरता दिने वा ठेक्का तोडेर नयाँ प्रक्रियामा जाने भनेर परामर्शका लागि कार्यालयले नागरिक उड्ययन प्राधिकरणलाई चिठ्ठीसमेत लेखिसकेको जानकारी दिए। 
 
'हामीले चिनियाँ कम्पनीलाई 'नोटिस टु करेक्ट' लेखेर धेरैपटक पत्राचार गरिसकेका छौं' प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले बिजमाण्डूसँग भने 'उसले समय सीमाभित्र काम गर्न सक्दैन भन्ने हाम्रो निष्कर्ष हो, अब पनि काम भएन भने हामी खारेजीको प्रकियामा जान्छौं।' 
 
श्रेष्ठले चिनियाँ कम्पनीले 'डमी' कन्ट्राक्टर राखेर दु:ख पाएको बताउँदै यसको जिम्मेवारी कम्पनीले लिनुपर्ने बताए। स्रोतका अनुसार झलनाथको छोराको कम्पनी हटाएपछि जुनसुकै हालतमा चिनियाँ कम्पनीको ठेक्का तोड्न प्राधिकरणलार्इ दबाब परेको छ। यही कारण प्राधिकरणले चिनियाँ कम्पनीलार्इ सहजीकरण गर्नुको साटो हटाउने प्रकिया अघि बढाएको हो।
 
'निर्भिकको कम्पनीले डेढ महिनादेखि आयोजनामा काम गर्न दिएको छैन। पहिला निर्माण सामाग्री नदिएर आयोजनाको काम गर्न रोकेकोमा अहिले सबैतिरबाट आयोजना अघि बढ्न नदिन अवरोध सिर्जना गरिरहेको छ' भैरहवा विमानस्थलका एक कर्मचारीले भने- ‘ठेकेदार कम्पनीलार्इ सहजीकरणको साटो अवरोध गर्न सबै मिलेका छन्।' 

चिनियाँ कम्पनीले ६० करोड रुपैयाँ नदिएसम्म कामअघि बढ्न नदिने चेतावनी निर्भिकको कम्पनीले दिएको छ। ती कर्मचारीका अनुसार बालुवा तथा ढुङ्गागिट्टी ल्याउन अवरोध गर्ने र कामदारलार्इ पनि भाँड्ने काम निर्भिकको कम्पनीले गरिरहेको छ। 'उनीहरुले अप्रत्यक्ष रुपमा दबाब दिँदै पैसा चुक्ता नभए निर्माण सामाग्री ओसार पसारमा अवरोध जारी रहने बताएका छन्' उनले भने 'त्यही भएर चिनियाँ कम्पनीले भने अनुसार काम गर्न सकेको छैन।'

चिनियाँ कम्पनीले एडीबीले रकम दिएपछि पैसा चुक्ता गर्ने प्रतिवद्धतालार्इ निर्भिकको कम्पनीले मानेको छैन। नेपाली कम्पनीमा निर्भिकको साथै एमालेको भातृ संगठन युवा संघ नेपालका उपाध्यक्ष राजु गुरुङ र पूर्व पर्यटन मन्त्री कृपासुर शेर्पा निकट फुर्वा शेर्पा, शक्ति डङ्गोल, रञ्जित राईलगायत सातजना संलग्न छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell