PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका दुई वटा बाह्रसिङ्गे मरे



रासस

चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका दुई वटा बाह्रसिङ्गे मरे
फाइल फोटो

नारायण ढुङ्गाना 

रत्ननगर : शुक्लाफाँटाबाट चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको दुई वटा बाह्रसिङ्गे मरेका छन्। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मानबहादुर खड्काले निकुञ्जमा ल्याइएकामध्ये दुई वटा पोथी बाह्रसिङ्गे मरेको आज जानकारी दिए। केही दिनअघि एउटा बाह्रसिङ्गे ल्याएकै दिनमा मरेको हो भने अर्को ल्याएको एक दिनपछि मरेको हो। टाढाबाट १६,१७ घन्टाको यात्रामा ल्याइएकाले दबाब परेको र गर्मी पनि बढेकाले बाह्रसिङ्गे मरेको अनुमान गरिएको निकुञ्जले जनाएको छ। 

बाह्रसिंगे अति संवेदनशिल जनावर हो। गर्मी बढेकाले अहिले स्थानान्तरण प्रक्रिया स्थगित गरिएको चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए। उनका अनुसार निर्वाचनमा कर्मचारी पनि खटाउनु पर्ने अवस्था आएकाले पनि कार्यक्रम रोक्नु परेको हो। 

चितवन निकुञ्जमा ल्याइएको सात मध्ये २ वटा बाह्रसिंगे मरेपछि पाँच वटा मात्रै रहेका छन्। जसमा २ भाले र ३ पोथी रहेको अर्यालले जानकारी दिए। कञ्जनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चितवनमा ५ भाले सहित २५ वटा बाह्रसिंगे ल्याउने योजना छ। जाडो मौसमको उपयुक्त समयमा अन्य बाह्रसिंगे ल्याइने निकुञ्ज विभागका महानिर्देशक खड्काले जानकारी दिए। 

स्थानान्तरणको काम यही वैशाख १३ गतेदेखि सुरु भएको थियो। बाह्रसिंगे नियन्त्रणमा लिन चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक कमल गैरेको नेतृत्वमा बर्दिया र शुक्लाफाँटाका कर्मचारी तथा प्राविधिकहरु गरी ३० जनाको टोली खटिएका थिए। सरकारी निर्णय अनुसार प्रजाती संरक्षण र विस्तारका लागि यसरी स्थानान्तरण गरिएको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए। चितवन निकुञ्जभित्रको पुरानो पदमपुरमा ३० हेक्टर क्षेत्रमा तारबार लगाएर अर्ना र बाह्रसिंगे राखिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell