रसुवा : उत्तरी रसुवाको पार्वतीकुण्ड गाउँपालिकामा चारजना दलित महिला निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचन अधिकृत विश्वबन्धु पौडेलका अनुसार पार्वतीकुण्ड गाउँपालिकाको पाँच वडामध्ये दुई वटा वडामा नेकपा (एमाले) का उम्मेदवार तथा एक/एक वडामा क्रमशः नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।
एमालेका तर्फबाट वडा नं १ मा जुरेली कामी र वडा नं ५ मा चरिमाया विश्वकर्मा, नयाँ शक्तिका तर्फबाट वडा नं २ मा श्रीमाया कामी र माओवादी केन्द्रबाट वडा नं ४ मा हिरा विश्वकर्मा निर्विरोध निर्वाचित भएका हुन्।
यसैगरी कालिका गाउँपालिकाको वडा नं १ मा दलितवस्ती भए पनि दलित महिला सदस्यमा उम्मेदवारी नपरेको उक्त गाउँपालिकाका निर्वाचन अधिकृत राजेन्द्रदेव पाण्डेले बताए। त्यस्तै गोसाइँकुण्ड गाउँपालिकाको वडा नं १, २, ३ र ४ मा कुनै पनि दलित महिला सदस्यको उम्मेवारी नपरेको सहायक निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए। रासस