चितवन : यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा छ सय ८४ जनाको उम्मेदवारी कायम भएको छ।
उम्मेदवारी फिर्ता लिने अन्तिम समय शुक्रबार अपराह्न ५ बजेसम्ममा १५ जनाले उम्मेदवारी फिर्ता लिएको र एक जनाको बदर भएपछि सो सङ्ख्या कायम भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले बताए।
नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द) बीच तालमेल भएपछि प्रमुख पदका उम्मेदवार दिनेश कोइराला र उपप्रमुखका उम्मेदवार सुरेन्द्र गुरुङको उम्मेदवारी फिर्ता भएको छ। अन्य फिर्ता लिनेमा वडाध्यक्ष र सदस्य छन्।
भरतपुरमा अन्तिम प्रतिस्पर्धाका लागि प्रमुखमा १४ र उपप्रमुखमा ११ जना कायम भएका छन्। महानगरका २९ वडाबाट प्रमुख र उपप्रमुखसहित एक सय ४७ जनप्रतिनिधि निर्वाचित हुने छन्। थप तीन जना मनोनीत भएपछि कुल जनप्रतिनिधिको सङ्ख्या एक सय ५० पुग्ने छ। महानगरपालिकामा एक लाख ५० हजार दुई सय ७४ मतदाता छन्। यहाँको ६५ मतदानस्थलमा एक सय ७९ मतदान केन्द्र राखिएको छ।
महानगरपालिकामा दुई लाख ८० हजार जनसङ्ख्या छ जसमा एक लाख ३४ हजार पुरुष र एक लाख ४६ हजार महिला छन्। भरतपुर महानगरमा ८३ जनजातिको बसोबास छ।
तत्कालीन भरतपुर नगरपालिकामा गीतानगर, मङ्गलपुर, पटिहानी, शिवनगर शुक्रनगर गाविस मिलाएर उपमहानगरपालिका तथा चित्रवन र नारायणी नगरपालिका तथा कविलास गाविस मिलेर महानगरपालिका बनाइएको हो। रासस