
- नरहरि पौड्याल
उम्मेदवारको मनोनयन दर्तासँगै दलहरु महानगरपालिकाको वडाका गाउँबस्तीमा पुगेर आफू र आफूनिकटस्थ दलका उम्मेदवारलाई भोट माग्न व्यस्त छन्। देशकै सबैभन्दा ठूलो महानगरपालिका भएकाले पनि यहाँका सबै राजनीतिक दलको ध्यान मेयरलगायतका पदहरु कसरी आफ्नो पोल्टोमा पार्न सकिन्छ भन्नेमै केन्द्रित भएको छ।

महानगरका ३३ वटै वडामा कांग्रेस, एमाले र माओवादी केन्द्रलगायतका दलहरुले प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा तीब्रता दिएका छन्। कास्कीका प्रमुख दलको तर्फबाट विभिन्न तहमा उम्मेदवारी दिएका उम्मेदवारहरुले महानगरका सबै वडामा पुगेर चुनावी अभियानलाई तीब्र पारेका छन्।
महानगरको मेयर र उपमेयर पदमा कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका रामजी कुँवर र सरस्वती गुरुङ, एमालेका मानबहादुर जिसी र मञ्जु गुरुङ, त्यसैगरी माओवादी केन्द्रबाट उपमेयरका उम्मेदवार गोमा ढकाललगायत अन्य पार्टीले वडाका अध्यक्ष तथा सदस्यका उम्मेदवारसँग पार्टीको पक्षमा चुनावी माहोल बनाउन खटिएका छन्।

निर्वाचनको मिति नजिकिएसँगै पार्टीहरुले घरदैलो तथा कोणसभा गर्दै आफ्ना भावी योजना, नीति, कार्ययोजना र प्रतिवद्धताहरु सार्वजनिक गर्दै मतदातालाई आफ्नो पक्षमा पार्न लागिपरेका छन्।
मुलुकमा लामो समयसम्म चुनाव नभएका कारण विकास निर्माण र भौतिक पूर्वाधारले गति लिन नसके पनि जनतामा दलप्रति बढेको निराशालाई चिर्न उमेदवारहरुले निर्वाचनमा आफ्ना योजना, पूर्वाधार बिकास र निर्माणका योजनावारे प्रतिबद्धता ब्याक्त गर्ने गरेका छन्।
.jpg)
कांग्रेसको तर्फबाट उम्मदेवारी दिएका रामजी कुँवरले पूर्वाधार विकास, पर्यटन, कृषि, स्वास्थ्य र स्मार्ट सहरको रुपमा पोखरालाई विकास गर्ने बताएका छन्।
त्यसैगरी नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका मानबहादुर जिसीले चुनावी घोषणापत्र सार्वजनिक गर्दै आगामी ३० वर्षमा पोखरालाई अन्तर्राष्ट्रिय स्तरको पूर्वाधारसहित सुविधा सम्पन्न सहर बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।