चितवन : नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) चितवनले जिल्लाका सबै स्थानीय तहमा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
दुबै पार्टीले शनिबार चितवनको भरतपुरमा संयुक्त पत्रकार सम्मेलन गरी त्यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन्।
भरतपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले माओवादी केन्द्रलाई सघाउने र कांग्रेसका उपमेयर लाई माओवादी केन्द्रले सघाउने निर्णय बारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा कांग्रेस र केन्द्रका नेताहरुले त्यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन्।
उनीहरुले नेपाली कांग्रेस र माओवादी बाहेक अन्य दलसंग सहकार्य गरेको भएपनि त्यसलाई तत्काल भंग गरि कांग्रेस माओवादीबीच मात्र सहकार्य गर्ने निर्णय भएको जानकारी गराए।
२९ वडा रहेको भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच मेयर र उपमेयर पदमा सहमति बनिसकेको भएपनि अन्य वडामा भने अझै सहकार्यको टुंगो लागेको छैन।
नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त पत्रकार सम्मेलनमा दुई पार्टीबीच भएका सहमतिबारे माओवादी केन्द्र चितवनका इन्चार्ज ईश्वरी भट्टराईले जानकारी गराए।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका सभापति श्रेष्ठले कांग्रेस र माओवादी दुबै ०६२/६३को जनआन्दोलनमा सडकमा सँगै गोली खाने दल भएकाले सहकार्य गर्न अफ्ठेरो नरहेको बताए।
'०६२/६३ को जनान्दोलनमा हामीले सडकमा गोली खादै गर्दा बालकोटको दरवार भित्र बसेर गणतन्त्र ल्याउनु भनेको बयलगाडा चढेर अमेरिका जानु सरह हो भन्ने मान्छेहरु र त्यो आन्दोलन दवाउन हाम्रा छातीमा गोली ठोक्न आदेश दिने कमल थापा र ज्ञानेन्द्र शाहहरुले साँठगाँठ गरेकोले त्यसलाई तोड्नको लागि हाम्रो दूई पार्टीकोबीचमा सहमतिका साथ दुवै पार्टीका केन्द्रले दिएको निर्देशन पूर्णरुपमा कार्यनयन गर्ने प्रतिवद्धता ब्यक्त गर्दछु,' सभापति श्रेष्ठले भने, 'रेणु दाहाल नेपाली कांग्रेसको मेयरको उम्मेद्वार हुनुहुन्छ, पार्वती शाह नेकपा (माओवादी केन्द्र) को उम्मेद्वार हुनुहुन्छ। अब हामी दूई पार्टीको उम्मेदवारहरुलाई कसैले हराउन सक्दैन।'
माओवादी केन्द्र र कांग्रेसको तर्फबाट भरतपुर महानगरपालिकाको साझा मेयरको उम्मेद्वार वनेकी रेणु दाहालले महानगरको विकास र सम्वृद्धिको लागि दुबै पार्टीको अर्जुन दृष्टि आवस्यक भएको बताइन्।
नेपाली काँग्रेससँग तालमेल पछि महानगरका विभिन्न वडाहरुमा आफ्नो चुनावी प्रचारको लागि घरदैलो अभियानमा पुग्दा दाहालले उम्मेद्वार बनेका बेला भन्दा अहिलेको अवस्था फरक भइसकेको बताइन्।
'म नेकपा (माओवादी केन्द्र) को तर्फबाट उम्मेद्वारी दर्ता गरेको भएपनि अव सबै नगरवासीहरुको साझा उम्मेद्वार बनेकी छु,' रेणुले भनिन्, 'भरतपुर नेपालको एक मात्र नमूना महानगर बन्ने छ हामी बनाएर छाड्नेछौ।'
उनले माओवादी केन्द्र र नेपाली कांग्रेसबीचको तालमेलले आम नगरवासी उत्साहित पाएको बताइन्।
'विगतमा के भए भन्ने भन्दा पनि हाम्रो अगाडीको गन्तव्य के हो भन्ने खोजी गरी महानगरको सम्बृद्धि र विकासमा अर्जुन दृष्टि आवस्यक छ,' रेणुले भनिन्।
कांग्रेसको तर्फबाट पार्वती शाह उपमेयरमा उम्मेदवार छिन्। कांग्रेस-माओवादी गठबन्धनले भरतपुर महानगरपालिका मेयर र उपमेयर दुबै पदमा महिला उम्मेद्वार बनाएको छ।