काठमाडौँ : महाभियोग प्रस्तावको प्रक्रिया रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि प्रधानन्यायाधीश सुशीला कार्की नियमित काममा फर्किएकी छन्। आइतबार प्रधानन्यायाधीश कार्कीले मुद्दाको पेसी तोकेकी छन्।
तर, कार्कीले आफ्नै इजलासमा भने मुद्दाको पेसी तोकेकी छैनन्।
सर्वोच्चका प्रवक्ता महेन्द्र उपाध्यायले कार्कीले नै पेसी तोक पनि आफ्नो इजलासमा मुद्दा नतोकेको बताए। उपाध्यायले भने ‘पेसी सम्माननीयज्यूले नै तोक्नुभएको हो। तर, उहाँकोमा मुद्दा तोकिएको छैन। सायद आफ्नो विशेषाधिकार प्रयोग गर्नुभयो।’
प्रधानन्यायाधीशमाथि ल्याइएको महाभियोग संविधानको मर्म अनुसार नभएको भन्दै न्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलासले शुक्रबार कार्कीलाई नियमित काममा फर्कन आदेश दिएको थियो। उक्त आदेशपछि सोही दिनबाट प्रसाशनिक काम सुरु गरेकी कार्कीले आइतबारको पेसी तोकेकी हुन्।
वैशाख १७ गते कार्कीविरुद्ध संसद् सचिवालयमा महाभियोगको सूचना दर्ता भएको थियो। वैशाख २१ गतेको संसद्मा सभामुखले प्रस्तावमाथि छलफलको समय तोक पनि प्रतिपक्ष दलको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको थिएन।