काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको ठाडो निर्देशनमा भरतपुर महानगरपालिका मेयर उम्मेद्वार दिनेश कोइरालाले उम्मेद्वारी फिर्ता लिए पनि मतपत्रमा रुख चिन्ह भने कायमै हुनेछ।
उम्मेद्वार नभए पनि मतपत्रमा राष्ट्रिय दलको चुनाव चिन्ह कायम हुने निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए।
यस्तोमा कांग्रेसको चुनाव चिन्ह रुखले बढी मत पाए के होला? शर्माका अनुसार उम्मेद्वार नभएको अवस्थामा कुनै दलको चुनाव चिन्हले पाएको मत स्वतः बदर हुनेछ। यस्तोमा अवस्थामा दोस्रो बढी मत पाउने चुनाव चिन्हका उम्मेद्वार निर्वाचित घोषित हुनेछन्।
भरतपुरमा कांग्रेसले माओवादी मेयर उम्मेद्वार रेणु दाहाल र पोखरामा माओवादीले कांग्रेस प्रत्यासी रामजी कुँवरलाई सघाउने सहमति भएको छ। तर, दुवै स्थानको मतपत्रमा कांग्रेस र माओबादीको चुनाव चिन्ह भने कायम हुनेछ। यस्तोमा प्रतिबद्ध कार्यकर्ताले आफ्नै पार्टीलाई भोट हाल्ने आँकलनसमेत गरिएको छ।
कांग्रेस र माओवदीले भरतपुर र पोखरा मात्र होइन हेटौँडा उपमहानगर, थाहा नगरपालिका लगायतमा पनि तालमेल गरेका छन्। यस्तै, एमाले र राप्रपाले काठमाडौं र ललितपुर महानगरपालिकामा तालमेल गरेका छन्। दुवै स्थानमा राप्रपाले एमाले मेयर र एमालेले राप्रपा उपमेयरलाई सघाउने सहमति छ। तर, पार्टीका उम्मेद्वार नरहे पनि मतपत्रमा दुवै दलको चुनाव चिन्ह भने हुनेछ।