
लागोसः नाइजेरियाको इस्लामिक उग्रवादी समूह बोको हरामले दुई बर्षअघि अपहरण गरेका २ सय ७० मध्ये ८२ बालिकालाई अपहरणमुक्त गरेको छ।
सन् २०१४ मा उत्तरपूर्वी नगर चिबोकको एउटा निजी विद्यालयबाट अपहरण गरेका मध्ये ८२ जना अपहरणमुक्त गरेको हो।
नाइजेरिया सरकार र बोको हरामका प्रतिनिधिका बीचमा वार्ता चलिरहेका बेला बालिका अपहरणमुक्त भएको सरकारी अधिकारीले जानकारी दिएका छन्।
बोको हरामको अपहरणमा परेका बालिका छुटाउनका लागि राष्ट्रपति मुहामदु बुहारीको प्रशासनले स्थानीय र अन्तर्राष्ट्रिय मध्यस्तकर्ताको सहयोगमा लामो समयदेखि वार्ता गरिरहेको थियो । रातको समय पारेर गरिएको उक्त अपहरणको अन्तर्राष्ट्रिय क्षेत्रबाट चर्को आलोचना भएको थियो।
राष्ट्रपति बुहारीले सरकारले निरन्तर वार्ता गरिरहेको र अपहरण गरिएका बालिकालाई सुरक्षितरुपमा रिहा गराइ छाड्ने अघिल्लो महिना बताएका थिए।
उनले अरु बालिकाको बारेमा पनि आशा नमार्न उनीहरुका बाबुआमालाई आग्रह गरेका छन्। सन् २०१६ को अक्टोबरमा पनि अरु २१ जना बालिकालाई अपहरणमुक्त गराइएको थियो।
सन् २००९ बाट बोको हरामले नाइजेरियामा द्वन्द्व सुरु गरेदेखि अहिलेसम्म करिब २० हजारभन्दा बढी मारिएका छन् लाखौँ मानिस विस्थापित भएका छन्।
अपहरण गरिएका अधिकांश बालिका इसाई धर्मावलम्बी थिए। उनीहरुलाई इस्लाम धर्मावलम्बी बन्न र बोको हरामका सदस्यसँग बिहे गर्न दबाब दिइएको थियो। रासस/सिन्ह्वा