PahiloPost

May 14, 2025 | १ जेठ २०८२

संसद स्थगित, सभामुखले भनिन् : राज्यका निकाय र तिनका पदाधिकारीले आफ्नो भूमिका समीक्षा गर्नुस्



पहिलोपोस्ट

संसद स्थगित, सभामुखले भनिन् : राज्यका निकाय र तिनका पदाधिकारीले आफ्नो भूमिका समीक्षा गर्नुस्

काठमाडौं : सभामुख ओनसरी घर्तीले आजका लागि बोलाएको संसद् बैठक आगामी जेठ चार गतेसम्मका लागि स्थगित गरेकी छिन्।

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा छलफल गर्ने कार्यसूची रहे पनि सर्वोच्च अदालतको फैसलापछि उत्पन्न परिस्थितिले राज्यका निकायहरुबीच नै द्वन्द्व हुनसक्ने भन्दै सभामुख घर्तीले पहिलो चरणको चुनावभन्दा पछिसम्मका लागि बैठक स्थगित गरेकी हुन्। 

'संसद्‍मा प्रवेश गरिसकेका प्रस्तावहरु कसरी अघि बढाउने भन्ने विषय संसद्को आन्तरिक मामिला र विशेषाधिकार हो,' सभामुख घर्तीले पत्रकार सम्मेलनमा भनिन्, 'नेपालको संविधानले शक्ति पृथकीकरण अन्तर्गत कार्यपालिका न्यायपालिका र व्यवस्थापिका काम कारवाहीका सन्दर्भमा प्रस्ट व्यवस्था गरेको छ, संविधानले गरेको व्यवस्था अनुसार राज्यका तीनवटै निकाय आफ्नो संवैधानिक दायरामा रहनुपर्छ भन्ने मेरो प्रष्ट मान्यता रहँदै आएको छ।'

उनले राज्यका अंगहरुबीच टकरावको अवस्था भएमा उपलब्धिहरु गुम्ने खतरा हुने भन्दै राज्यका अंगका पदाधिकारीकलाई आफ्नो भूमिकाबारे गम्भीर आत्म समीक्षा गर्न आग्रह गरिन्।
 
'राज्यका अंगहरुबीच टकराव हुँदा नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट स्थापित लोकतान्त्रलाई संस्थागत गर्न र आसन्न निर्वाचनलाई समेत प्रतिकूल असर गर्दछ,' सभामुख घर्तीले भनिन्, 'यस्तो अवस्थालाई ध्यान दिँदै राज्यका निकायका पदाधिकारीहरुले आ-आफ्नो भूमिकालाई आत्मसमीक्षा गर्दै धैर्य एवम् संयमतापूर्वक समाधान निकाल्न आवश्यक छ।'

उनले संयमता राख्न र आत्म समीक्षा र संवादका माध्यमबाट समाधान निकाल्ने प्रयोजनका लागि संसद् बैठक स्थगित गरेको जनाइन्। 

'राज्यप्रतिको यो जिम्मेवारीलाई आत्मसात गर्दै आपसी वार्ता, संवाद र छलफलको माध्यमबाट समस्या समाधान गर्न सजिलो होस् भन्दै आजै लागि तोकिएको संसद् बैठक जेठ चार गतेसम्मका लागि स्थगित गरेकी छु,' घर्तीले भनिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell