
काठमाडौं : आइतवार बिहान काठमाडौंको नयाँ बजारमा काठमाडौं महानगरपालिका मेयरका उम्मेद्वारहरु नागरिक सुनुवाइमा भेला भए। सुनवाइमा सामेल भएका महानगरबासीको तारो बन्यो नेपाली सेनाले टुँडिखेलमा बनाइरहेको भवन र पुरानो बसपार्कको २३ तले भ्यु टावर।
सुनवाइमा नेपाली कांग्रेसबाट मेयरका उम्मेद्वार राजुराज जोशी, एमाले उम्मेद्वार विद्यासुन्दर जोशी, माओवादी केन्द्रका सर्वोत्तम डङ्गोल, नयाँ शक्तिका पवित्र बज्राचार्य र साझा पार्टीका किशोर थापा थिए।
महानगरवासीले सेनाले टुँडिखेलमा बनाएको भवन तत्काल हटाउन माग गरे। कार्यक्रममा सहभागीले भने, 'सेनाले शहरको सुन्दरता बिगार्न नक्सा पास गरेर कि नगरी भवन बनायो? यो हटाउनु पर्छ।'
कार्यक्रममा सहभागी अधिकांशले बसपार्कमा बनाएको भ्यु टावर र सेनाको भवन निर्माणको विरोध गरे। 'हामीलाई स्मार्ट सिटी र रेल होइन काठमाडौंको सांस्कृतिक सम्पदा जोगाउने निर्माण चाहिएको हो। सुन्दरता नै बिगार्ने यस्ता विकास निर्माण बन्द गरेमात्र मेयरलाई भोट दिन्छौं।'
उनीहरुले सडक बिस्तारको नाममा भइरहेको विनाशलाई पनि रोक्ने पर्ने बताए। मेयरका उम्मेदवार राजुराज जोशीले आफू मेयर भए संस्कृति र सम्पदालाई विनाश हुने विकास निर्माणमा रोक लगाउने बताए। उनले भने, 'जथाभावी एक इन्च पनि बाटो बनाउँदिन।'
नयाँ शक्ति नेपालका उम्मेदवार पवित्र बज्राचार्यले बसपार्कमा बन्ने तयारीमा रहेको टावर आवश्यक नभएको बताए। उनले भने, 'यो निर्माणले महानगरको पहिचान र रुप नै बदलेको छ। यसलाई हटाउनुपर्छ।'
नेकपा एमालेबाट काठमाडौंको मेयरमा उम्मेद्वारी दिएका विद्यासुन्दर शाक्यले पनि काठमाडौंको पहिचान धर्म र संस्कृति भएकाले यसलाई समाप्त हुने गरि विकास नगर्ने बताएका थिए।