PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

एउटा म्यासेजले यू टर्न भयो ललितपुरका मेयर आकांक्षीको योजना



सविन ढकाल

एउटा म्यासेजले यू टर्न भयो ललितपुरका मेयर आकांक्षीको योजना

ललितपुर : मोबाइलमा घन्टी बज्यो। हतार हतार गोजीमा भएको मोबाइल निकालेर हेर्दा म्यासेज आएको रहेछ। म्यासेज एक अपरिचित युवकको।

म्यासेजमा थियो - 'हामीलाई ठूला सपना नदेखाउनुहोला, कुनै मेगा सिटी र रेल होइन, आधारभूत पूर्वधारहरु खानेपानी, सडक र शान्त शहर भए पुग्छ।' 

त्यतिखेर ललितपुर महानगरपालिमा नेकपा एमालेबाट मेयर उम्मेद्वारी दिएका हरिकृष्ण व्यञ्जनकार च्यासलका जनतालाई महत्वकांक्षी सपना बाँडिरहेका थिए। 'मेगा सिट बनाउँछु, रेल कुदाउँछु, शहर मेलम्चीको पानीले पखाल्छु' इत्यादि इत्यादि। अप्रत्यासित आएको म्यासेजले भोट माग्दा बाँड्ने आश्वासन नै युटर्न भयो। उनी भन्छन्, 'जनताले आधारभूत कुरा नै पाएका रहेनछन् म किन ठूला ठूला सपना देखाउँ। म्यासेजले मन छोयो।'

२०३५ सालबाट सक्रिय राजनीतिमा लागेका हरिकृष्ण बिहीवार जनताको घर दैलोमा भोट माग्न पुग्दा महत्वकांक्षी सपना देखाउन छोडिसकेका थिए। ललितपुर च्यासलकी मेनुका च्यामेसँग उनले भोट माग्दा खानेपानी र ढल बनाइदिने आश्वासन दिए। नेताका झुटा आश्वासन खेपिसकेकी मेनुकाले रेल र मेगा सिटी बनाइदिन्छु भनेका भए बुझ्थिन् कि बुझ्थिनन्  थाहा छैन।

मेनुका भन्छिन्, 'मलाई भोट दिए खानेपानी, ढल र सडक बनाइदिन्छु भन्नु'भो। खै गर्छन् गर्दैंनन्।' हरिकृष्ण मेयरमा उम्मेदवारी दिएपछि नै जनताको घर दैलोमा पुगिरहेका छन्। उनी सबै जनताको एउटै अपेक्षा खानेपानी, सडक, ढल र शान्त शहरको परिकल्पाना नै रहेको बताउँछन्। उम्मेदवारले यसरी भोट माग्न हिँडदा सर्वसाधरण भने रमाइलो मानेर हेरिरहेका थिए। उनीहरुलाई निर्वाचनको यो रौनक न हर्षको थियो न बिष्मत नै। च्यासलमा किराना पसल गरिरहेकी एक महिला भन्छिन्, 'चुनाव आउँदा सबैले यो त्यो भन्ने न हुन्। गर्ने केही होइनन्।' ललितपुर वडा नम्बर ९ बाट २०४३ सालमा वडा अध्यक्ष जितेका हरिकृष्णलाई हामीले प्रश्न गर्यौं:
 
तपाईँले बाँडेका सपना पूरा गर्नुहुन्छ त?  

भने, 'म यहीँ जन्मेको मान्छे। यहीँ बस्नु छ। नगरे भोलि जनताले मारिहाल्छन् नि।'  

अहिले मेयरलाई धेरै अधिकार भएकाले काम गर्न सजिलो हुने पनि दावी गरे। 

त्यसो त उनी स्थानीय राजनीतिमा सक्रिय हुन पेशा नै त्यागेका नेता हुन्। २०३५ सालमा राष्ट्र बैंकको कर्मचारी थिए उनी। २०४३ सालमा वडा अध्यक्ष भएपछि उनले सरकारी जागिर नै छोडेर राजनीतिकै यात्रा तय गरे। 

च्यासल पुग्दा कार्यकर्तालाई मासु च्युरा खुवाइ रहेका थिए उनले। करिब सयभन्दा बढी मासु च्युरा खाँदै थिए। 

मेयर हुन खर्चिलो रहेछ है? 

'होइन होइन। यो मेरो खर्च होइन। सब स्थानीयको नै हो,' उनले भने। 

नोटले भोट नकिन्ने दावी पनि गरिहाले उनले। आफूले खर्च नगर्ने बताइरहँदा उनले अरु उम्मेदवारले एकदेखि ३ करोडसम्म खर्च गरेको दावी गरे। उनले भने, 'हामी स्थानीयले खर्च गर्नु पर्दैन। बाहिरबाट आएर चुनाव लड्नेले खर्च गरेका छन्।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell