
काराकासः सेतो कपडा लगाएका हजारौं महिलाहरुले भेनेजुयलाको राजधानीमा बृहत् =यालीसहित विरोध प्रदर्शन गरेका छन्।
प्रदर्शनमा सहभागीहरुले ‘अझै दमन गर’ लेखिएको प्लेकार्डहरु प्रदर्शन गरेका विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।
प्रदर्शनकारीलाई सरकारी सुरक्षाकर्मीले विभिन्न ठाउँमा अवरोध गरेका थिए। विशेष गरेर गृहमन्त्रालय अगाडि प्रदर्शन गर्न खोज्दा उनीहरुलाई सुरक्षाकर्मीहरुले रोक्नुपरेको थियो।
प्रदर्शनमा अरु पनि धेरै महिला सांसदहरु सहभागी थिए। उनीहरुले सडक अवरोध गर्नका लागि मात्रै नभई भेनेजुयलालाई स्वतन्त्र बनाउनका लागि सडकमा आएको बताएका थिए। महिलाले गरेको प्रदर्शनको नेतृत्व कारागारमा राखिएका विपक्षी दलका नेता लेओपोल्डो लोपेजकी श्रीमती तथा सांसद लिलिएन टिनटोरीले गरेकी थिइन्।
मादुरोविरुद्धको यस्तै प्रदर्शन राजधानीबाहेक अन्य सहरहरुमा पनि भएका छन् । सान क्रिस्टोबल र अरागुआमा भएको विरोध प्रदर्शनहरुमा प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो।
वामपन्थी नेता तथा राष्ट्रपति मादुरोमाथि आन्दोलनरत प्रतिपक्षी दलले जसरी पनि मादुरो सत्तामा रहिरहन चाहेका र निर्वाचन प्रक्रियालाई ढिलो गराएको आरोप लगाउँदै आन्दोलन भइरहेको छ ।
पेट्रोलियम पदार्थका लागि धनी राष्ट्र भेनेजुयलामा पछिल्लो समय खाद्यान्न, औषधिलगायतका आधारभूत सामग्रीको अभाव हुन थालेको छ।
विपक्षीले देशमा सात सय प्रतिशतभन्दा बढीले मूल्य वृद्धि भएको, सरकारले शान्ति तथा अमनचयन कायम गर्न नसकेको, संसद्को अधिकारमाथि हस्तक्षेप गरेकोजस्ता आरोप लगाएका छन्।
सरकारले भने प्राकृतिक रूपमा निम्तिएका समस्याप्रति सरकारलाई दोषी मान्न नमिल्ने तर्क गरेको छ ।
सन् २०१३ मा राष्ट्रपतिमा निर्वाचित मादुरोले अमेरिकी चासोका विषयमा कम ध्यान दिएपछि सन् २०१९ मा कार्यकाल अन्त्य हुने भएपनि आफूविरुद्ध अमेरिकी पुँजीपतिहरूले पूरा कार्यकाल सम्पन्न गर्न नदिन षड्यन्त्र गरिरहेको बताउँदै आएका छन्।
मादुरोविरुद्धको आन्दोलनमा एक महिनाको अवधिमा ४० जनाको मृत्यु भइसकेको छ । निजी सञ्चारमाध्यमले गरेका मत सर्वेक्षणमा मादुरोविरुद्ध करिब ७० प्रतिशत जनता रहेको बताइएको छ । रासस/एएफपी