PahiloPost

May 14, 2025 | १ जेठ २०८२

'फास्ट ट्रयाक' निर्माणको आन्तरिक तयारीमा जुट्यो नेपाली सेना



पहिलोपोस्ट

'फास्ट ट्रयाक' निर्माणको आन्तरिक तयारीमा जुट्यो नेपाली सेना

काठमाडौँ : नेपाली सेनाले उपत्यकालार्इ तराई जोड्ने राष्ट्रिय गौरवको 'फास्ट ट्रयाक' बनाउन आन्तरिक तयारी सुरु गरेको छ।

निर्माणका काम थाल्नका लागि सेनाले निर्देशक समिति बनाउन गृहकार्य गरिरहेको नेपाली सेनाका प्रवक्ता झंकरबहादुर कठायतले बताए। 

समितिमा भौतिक पूर्वाधार, अर्थ र रक्षा मन्त्रालयका सहसचिव, सेनाको युद्ध निर्देशनालय र इन्जिनियरिङ महाशाखा प्रमुख रहनेछन्। 

रक्षा र अर्थ मन्त्रालयको सचिवसहितको अनुगमन समितिले सरकारलाई मासिक रुपमा भएको प्रगति विवरणबारे जानकारी उपलब्ध गराउने बताइएको छ। 

सरकारले गरेको निर्णयअनुसार निर्देशक समिति बनाउने र समितिको निर्देशनपछि मात्र सेनाले ७६ किलोमिटर लामो फास्ट ट्रयाकको  काम थाल्ने छ। निर्देशनालयका अनुसार समितिले निर्देशन दिएपछि औपचारिक रुपमा सेनाले काम थाल्ने भएको हो। 

यसअघि ट्रयाक खोल्ने काम पनि सेनाले गरेको थियो। आवश्यक दक्ष जनशक्ति बाहिरबाट पनि ल्याएर काम गरिने सेनाले जनाएको छ। 

द्रुतमार्ग बनाउने क्रममा धेरै नै प्राविधिक जनशक्ति आवश्यक पर्ने भएको र सबै दक्ष प्राविधिक सेनाभित्र नहुन सक्ने भएकाले पनि बाहिरबाट दक्ष जनशक्ति भित्र्याउने तयारी गरिरहेको पनि निर्देशनालयले जनाएको छ।

गत बिहीबार सरकारले फास्ट ट्रयाक निर्माणको जिम्मा औपचारिक रुपमा सेनालार्इ दिएको हो। फास्ट ट्रयाक निर्माणको लागि सरकारले बजेट दिने र व्यवस्थापकीय काम सेनाले गर्ने निर्णय भए अनुसार नै फास्ट ट्रयाकको काम अघि बढेको हो। 

सरकारले सेनालार्इ निर्माणका लागि समय तालिका  सहितको क्यालेण्डर आगामी दुर्इ साताभित्र उपलब्ध गराउन समेत भनिसकेको छ। क्यालेण्डरलार्इ मन्त्रीपरिषद्‍ले स्वीकृत गरेपछि ४ वर्षमा सेनाले फास्ट ट्रयाक निर्माण सम्पन्न गर्नुपर्ने छ। 

फास्ट ट्रयाक उपत्यकाको ललितपुरस्थित खोकनाबाट सुरु हुन्छ। त्यहाँबाट बागमतीको किनारै किनार २१ किलोमिटर अगाडि जान्छ। त्यसपछि लगभग २ किलोमिटर जतिको सुरुङ छेडेर सिमाटमा पुग्छ। यो ट्रयाक चार लेनको हुने बताइएको छ।

त्यसपछिको बाटो भनेको बकैया खोलाको किनार हुनेछ। किनारै किनार निजगढ पुगेर महेन्द्र राजमार्गमा यो ट्रयाकको समाप्ती हुनेछ।

नारायणगढ-मुग्लिन सडकबाट राजधानी छिर्नुभन्दा फास्ट ट्रयाकको बाटो लगभग १ सय ६० किलोमिटर छोटो हुनेछ। अध्ययन अनुसार यसले लगभग ४ घण्टाको दुरी छोट्टयाउने छ। 

निर्माण, संचालन र हस्तान्तरण (बुट) प्रणालीमा अल्झिएर सरकारले ९ बर्ष फास्ट ट्रयाक सुरु गर्न सकेको थिएन। हाल सेनाले मुलुकका विभिन्न क्षेत्रमा गरी ५ सय किमीको सडक सञ्जाल निर्माण गर्दैछ। 

सेनाले बनाउँदै गरेको सडकमा १९६ किलोमिटरको कर्णाँली करिडोर, १२० किलोमिटरको बेनीघाट-आरुघाट-लार्के भन्ञ्याङ, ६७ किलोमिटर लामो कालीगण्डकी करिडोर, ११७ किलोमिटर लामो जाजरकोट-डोल्पा र १८ किलोमिटर मैलुङ-स्याप्रुवेसी सडकखण्ड रहेको छ।

नेपाली सेनाले निर्माण गरिरहेको कर्णाली करिडोरले त्यस क्षेत्रका अति विकट मानिने हुम्ला र डोल्पालार्इ समेत सडक सञ्जालले छुने बताइएको छ। नेपाली सेनाले ६० वर्षमा करिब १७ सय किमीभन्दा बढी सडक निर्माण गरिसके पनि यस्तो अत्याधुनिक सडक निर्माणको अनुभव भने छैन। 

वि.सं. २०१३ सालदेखि विकास तथा पूर्वाधार निर्माणमा संलग्न रहँदै आएको सेनाले २३ वटा सडक आयोजनाहरु निर्माण सम्पन्न गरी  सरकारलार्इ सुम्पिसकेको छ। सेनाले यो अवधिमा २१ वटा साना ठूला पुलको निर्माणसमेत गरिसकेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell