
काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले सत्तारुढ दलहरुले शक्तिको दुरुपयोग गरेर तीन संवैधानिक अंगहरुबीच विवाद ल्याएको आरोप लगाएका छन्।
आइतबार राजधानीमा नेकपा एमालले स्थानीय तहको निर्वाचनबारे जानकारी दिन गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष गौतमले व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाबीच सत्तारुढ दलले असन्तुलन ल्याएको बताए। उनले भने, 'भाग्यमा नै लेखेर आएका हुन् कि सरकारमा गएदेखि विवादित बन्दै आएका छन्।'
अहिले व्यवस्थापिका र न्यायपालिकाबीच देखिएको विवाद समधान गर्न नेकपा एमाले नै अघि बढ्नुपर्ने उनले बताए। उपाध्यक्ष गौतमले निर्वाचनको समयमा महाभियोगको विषयले तरंग पैदा गरेको बताए।
सरकारले दोस्रो चरणको निर्वाचनका लागि जेठ ३१ को मिति तय गरिसकेको छ। नेकपा एमाले भने जेठ ३१ गते तय भएको निर्वाचन सार्नुपर्ने माग गर्दै आएको छ। उपाध्यक्ष गौतमले जेठ १५ गते अगाडि नै निर्वाचन गर्न माग गरेका छन्। उनले भने, 'बजेट पछाडि निर्वाचन भयो भने त्यो आचरसंहिता विपरित हो। हामी मान्दैनौँ।'
बजेट पछाडि निर्वाचन गराउनुमा सरकारको षड्यन्त्रसमेत रहेको उनले आरोप लगाए। नेकपा माओवादी र नेपाली कांग्रेसबीचको निर्वाचन समन्वयलाई लिएर उपाध्यक्ष गौतमले एमालेलाई हराउन तालमेल भएको बताए। उनले भने, 'निर्वाचनमा जति नै तालमेल भए पनि उनीहरुले एमालेलाई हराउन सक्दैनन्।'