काठमाडौँ : प्रहरीले गुन्डा नाइके दीपक मनाङ्गेलाई पक्राउ गरेको छ। मनाङ्गेलाई आज साँझ ठमेल क्षेत्रबाट पक्राउ गरेको पुष्टि काठमाडौँ प्रहरी प्रमुख एसएसपी छविलाल जोशीले गरे।
चुनावलक्षित सुरक्षा योजना अन्तर्गत १६० जना गुन्डा नाइकेहरुलाई प्रहरीले पक्राउ गर्ने सूचीमा राखेको थियो। तीमध्ये ६० भन्दा बढी बी, सी ग्रेडका गुन्डाहरुलाई प्रहरीले पक्राउ गरिसकेको छ।
बाँकीलाई पनि नियन्त्रणमा लिने र निगरानी गर्ने कार्य भइरहेको एसएसपी जोशीले बताए।
'आसन्न स्थानीय चुनावमा अप्रिय घटना नहोस् भनेर हामीले सुरक्षा सतर्कता र निगरानी बढाएका छौँ', एसएसपी जोशीले पहिलोपोस्टलाई बताए।
मनाङ्गे हाल राप्रपाका नेता हुन्। राजनीतिक छाताबाहिर बस्दा पटक-पटक पक्राउ खाएपछि मनाङ्गे गएको पुसमा पुरानै पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीमा फर्किएका थिए।
एक दशक अगाडि पनि उनी राप्रपा मै थिए तर पार्टीले आफ्नो धारणा नबुझेको भन्दै नेपाली कांग्रेस प्रवेश गरेका थिए। कांग्रेसमा रहँदा उनी नेपाल तरुण दलको जिल्ला अध्यक्ष समेत भए।
मनाङ्गे सहित उनको समुहका ३ सय जनालाई राप्रपा अध्यक्ष कमल थापाले गत पुसमा खादा र अबिर लगाएर पार्टीमा प्रवेश गराएका थिए।
प्रहरी रेकर्ड अनुसार मनाङ्गे ठमेल क्षेत्रलाई आधार बनाएर संगठित गुन्डागर्दीमा सक्रिय थिए। ठमेल क्षेत्रको रात्रिकालीन व्यवसायमा अझै उनको दबदबा चल्छ।
गत वर्ष असारमा महानगरीय प्रहरी परिसर काठमाडौले उनलाई व्यापारीलाई धम्काएको र चन्दा आतंक मच्चाएको भन्दै पक्राउ गरी संगठित अपराधमा कारवाही अगाडि बढाएको थियो।
प्रारम्भमा उनी पुर्पक्षका लागी कारागार गएपनि एक महिनामै छुटेका थिए। आपराधिक गतिविधिबाट अकुत सम्पत्ति कमाएको अभियोगमा उनीविरुद्द विशेष अदालतमा सम्पत्ती शुद्धिकरणको मुद्दासमेत चलिरहेको छ।
मनाङ्गेको पक्राउ यात्रा
काठमाडौंमा हुने झगडामा मनाङ्गेको नाम जोडिई नै रहे पनि उनको पक्राउ यात्रा २०५९ भदौ १७ बाट सुरु हुन्छ। महानगरीय प्रहरी अपराध महाशाखामा रहेको रेकर्डअनुसार पहिलो पटक उनी लोचनप्रसाद विमलीको १ लाख २८ हजार रुपैंया लुुटेको आरोपमा पक्राउ परेका थिए। त्यो अभियोग अदालतसम्म पुगेपछि धरौटीमा मुक्त भए।धरौटीमा मुक्त भएको १५ महिनापछि २०६० पुस ९ मा होटल हायातमा नगेन्द्र श्रेष्ठलाई खुकुरी हानेको केसमा उनी पुन पक्राउ परे। उनीमाथि सार्वजनिक अपराधको मुद्दा लागे पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १० हजार धरौटीमा छुटे।
छुटेको तीन महिनापछि चैत १४ गते पुन: कुटपिट गरेको आरोपमा पक्राउ परे र सार्वजनिक अपराधको मुद्दामा धरौटीमा छुटे।
२०६१ बैसाख ३१ मा महाराजगन्जमा अर्का गुन्डा नाइके चक्रे मिलनलाई तरबारले हानेर बायाँ हात छिनाएको घटनामा उनीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भयो। २०६१ चैत १८ मा उनी पक्राउ परे।
यसमा भने उनी धरौटीमा मुक्त हुन सकेनन् र पुर्पक्षका लागि थुनामा गए। उनी २०६३ माघ ९ मा कारागारमुक्त भए।
कारागारमुक्त भएको एक महिनामै उनी अर्का गुन्डा नाइके काजी शेर्पालाई गोली हानेको घटनामा मुछिए र २०६४ असोज १७ मा अदालतमा हाजिर भए। अदालतले २५ हजार रुपैंया धरौटी माग्यो। उनी नबुझाई डिल्लीबजार कारागार गए।
अभिशेक विक्रम शाहलाई कुटेको केसमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई १ वर्ष कैद सजाय सुनायो। २०६५ साउन २४ मा उनी पक्राउ परे। 'म दीपक मनाङ्गे होइन राजीव गुरुङ हुँ' भन्दै कारागारमुक्त भएका उनी पुन ६ महिनापछि समातिए।
पछिल्लो समय उनीविरुद्ध आपराधिक गतिविधि गरेर अकुत सम्पत्ति कमाएको अभियोगमा विशेष अदालतमा मुद्दा चलिरहेको छ। उनी धरौटीमा मुक्त भएकै बेला पुन: काठमाडौं परिसरले गत असारमा पक्राउ त गर्यो तर यसपालि भने उनी साधारण तारेखमै मुक्त भए।