
फ्रान्सको राष्ट्रपतिमा इमानुयल माक्रोन निर्वाचित भएका छन्। ३९ वर्षीय माक्रोनले प्रतिस्पर्धी नेतृ मारिन ले पेनलाई भारी मत अन्तरले पराजित गर्दै विजयी भएका हुन्। उनको यो पहिलो निर्वाचित उच्च पद हो। जीतपछि समर्थकलाई सम्वोधन गर्दै उनले आफनो जीत फ्रान्सका लागि नयाँ अध्यायको सुरुवात भएको बताएका छन्।
आइतबार सम्पन्न अन्तिम चरणको मतदानमा उनले ६६ दशमलव शून्य ६ प्रतिशत मत पाएका छन्। प्रतिस्पर्धी पेनले ३३ दशमलव ९४ प्रतिशत मत पाइन।
स्राेत : बिबिसी
२८ युरोपेली राष्ट्रमध्ये सवैभन्दा बढी बेरोजगारी रहेको फ्रान्समा युवा स्वरोजगार नै सवैभन्दा ठूलो चुनावी मुद्दा बनेको थियो। माक्रोनले जलवायु परिवर्तनलाई पनि मुख्य अजेण्डा नै बनाएका थिए।
सन् १९५८ पछि फ्रान्समा प्रभाव जमाइरहेका ‘सोसलिष्ट र सेन्टर राइट रिपव्लिकन’ पार्टीभन्दा बाहिरका उम्मेद्वार माक्रोनलाई फ्रान्सेली मतदाताले राष्ट्रपतिमा चुनेका हुन्। पछिल्लो तीन वर्ष उनले लिएका राजनीतिक मुद्दामा पाएको सफललतासँगै मूलधारका पार्टी र राजनीतिज्ञलाई धरासायी पार्दै उनी वियन भएका हुन्।
पेन कट्टर दक्षिणपन्थी नेतृ थिइन। उनको मुख्य चुनावी अजेण्डा नै फ्रान्सको सीमा नियमनका लागि पर्खाल लगाउने र युरोपियन युनियनबाट बाहिरिने थियो।
आप्रवासी नीति र सीमामा पर्खाल लगाउने भन्दै चर्चामा रही अमेरिकी राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पको बाटो अवलम्वन गरेको पेनलाई आरोप लाग्ने गरेको थियो। फ्रान्सेली मतदान उग्र-राष्ट्रवादको पक्षमा जान्छन वा जादैनन् धेरैलाई चासोको विषय समेत थियो ।