
प्योङ्याङः उत्तर कोरियाले अर्का एक अमेरिकी नागरिकलाई पक्राउ गरेको छ।
उत्तर कोरिया विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्योङ्याङले अमेरिकी नागरिक किम हाक सोङ्लाई शनिबार पक्राउ गरेको ‘उत्तर कोरियन सेन्ट्रल न्यूज एजेन्सी’ ले जनाएको छ।
एक महिनाको अन्तररालमा उत्तर कोरियामा पक्राउ पर्ने किम दोस्रो अमेरिकी नागरिक हुन् भने हालसम्म चार जना अमेरिकीलाई पक्राउ गरिएको छ। किम ‘प्योङ्याङ यूनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी’ मा अध्यापन गर्दै आएका छन्।
न्यूज एजेन्सीले पक्राउ परेका किममाथि आवश्यक अनुसन्धान जारी राखिएको जनाएको छ।
पक्राउ परेका दुवैजना कोरियाली मुलका अमेरिकी नागरिक हुन् र उत्तर कोरियामा शिक्षण पेशामा संलग्न छन्।
उनीहरु बाहेक दुई अन्य अमेरिकी नागरिक पनि कोरियाली जेलमा बन्दी जीवन बिताइरहेका छन्।
उत्तर कोरियाले गत शुक्रबार संयुक्त राज्य अमेरिकाको जासुसी निकाय र दक्षिण कोरियाद्वारा आफ्नो सर्वोच्च नेता किम जोङ् उनलाई गत महिना सामूहिक समारोहमा हत्या गर्ने गरेको षड्यन्त्रलाई असफल पारेको जनाएको थियो। रासस/सिन्ह्वा