PahiloPost

May 14, 2025 | १ जेठ २०८२

पोखराको मुहार फेर्ने कांग्रेसको यस्तो छ परिकल्पना



पहिलोपोस्ट

पोखराको मुहार फेर्ने कांग्रेसको यस्तो छ परिकल्पना

पोखराः निर्वाचनमा आफ्नो पार्टीलाई विजयी गराउन कांग्रेसले समग्र पोखराको मुहार फेर्ने परिकल्पना अघि सारेको छ। 

कांग्रेसले पोखरा लेखनाथ महानगरपालिकालाई पाँच बर्षभित्र सुविधासम्पन्न र आधुनिक सहरको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

कांग्रेसले घोषणापत्र सार्वजनिक गर्दै पोखरालाई अन्तराष्ट्रियस्तरको नमूना समृद्ध र स्मार्ट सहरको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएको हो। कांग्रेसले महानगरको सडक सञ्जाल स्तरोन्नति गरी सुविधासम्पन्न यातायात सञ्चालन, व्यवस्थित भौतिक पूर्वाधार निर्माण, सञ्चार र खानेपानी सुविधा, ढल र फोहोर व्यवस्थापन गरी प्रदुषणमुक्त सहर बनाउने जनाएको छ ।

ट्राफिक जामलाई न्यूनिकरण गर्न टनेलमार्ग निर्माण र आकासे पुल निर्माणलाई प्राथमिकता दिने कांग्रेसको योजना छ । त्यसैगरी विकसित राष्ट्रलहरुले ट्राफिक जामलाई न्यूनिकरण गर्न सञ्चालन गरिरहेको मोनोरेललाई पनि उच्च प्राथमिकतामा राखेको जनाएको छ।

बेराजगारी समस्या समाधानका लागि स्थानीय तहमा युवा उद्यमशीलताका लागि ज्ञान तथा सीपको विकास गर्दै कृषि, ऊर्जा, साना तथा मझौला उद्योग र पर्यटकीय विकास गर्ने योजनासमेत कांग्रेसले अघि सारेको छ ।


महानगरका प्रत्येक वडामा उद्यान, शान्ति वन बाटिका, महानगरभित्रै एक घर एक रुख, एक गाउँ एक वन र एक नगर अनेक उद्यान कार्यक्रम सञ्चालन गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ। सुकम्वासी समस्यालाई तीन वर्षभित्रमा समाधान गर्ने, एकल महिला, बालबालिका, वृद्धवृद्धा, युवा तथा सम्पूर्ण किसानहरुको आर्थिक वृद्धिदर बढाउने योजना रहेको छ।

महानगरका सवै वडा जोड्ने गरी चक्रपथ निर्माण गर्ने,पक्की सडक निर्माण, राजमार्गबाट पोखरा भित्रिने र महानगरमा चल्ने सवारीका लागि आधुनिक बसपार्कको निर्माण जस्ता योजना कांग्रेको प्राथमिकतामा परेका छन्। 

सिलान्यास भएर पनि गतिलिन नसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य तत्काल गर्न दवाब दिन, तालतलैयाको संरक्षण गर्ने, फुट ट्रयाक निर्माण गर्ने र तालहरुको उपयोग गरी उर्जा उत्पादन तथा मत्स्यपालनमा जोड्ने योजना कांग्रेसको छ।

नगरभित्रको फोहोरमैला व्यवस्थापनसहित बैकल्पिक उर्जा उत्पादन गर्ने, धार्मिक तथा सांस्कृतिक क्षेत्रहरुको विकास गर्ने, महानगरवासीको हातहातमा स्मार्ट फोन, वाईफाई र इन्टरनेट तथा पुस्तकालयसहित सामुदायिक श्रोत केन्द्र व्यवस्थापन गर्ने योजना रहेको कांग्रेसले जनाएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell