
- हरि लामिछाने
प्रदेश नम्बर ३, ४ र ६ अन्तर्गत ३४ जिल्लाका दुई सय ८३ वटा स्थानीय तहमा हुने निर्वाचनका लागि दर्ता भएका कुल ४९ हजार ७१ जना उम्मेदवारको प्रचारप्रसारमा खर्च अर्बौं हुने देखिएको हो।
निर्वाचन आयोगले महानगर प्रमुख र उपप्रमुख, उपमहानगर प्रमुख र उपप्रमुख, नगर प्रमुख र उपप्रमुख र तत्अनुसारका वडाध्यक्ष र सदस्य तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र सदस्यले खर्च गर्न पाउने गरी १० वटा तह बनाएको छ।
आयोगले तहगतरुपमा तोकेअनुसार कुल खर्च ३४ लाख हुन आउँछ। यसको औसत रकम तीन लाख ४० हजार हुन्छ अर्थात् एकजना उम्मेदवारले औसतमा तीन लाख ४० हजार खर्च गर्न पाउनेछन्।
निर्वाचन आयोगले तोकेको मापदण्डअनुसार पहिलो चरणको निर्वाचनमा दर्ता भएका उम्मेदवारले तोकेअनुसार मात्रै खर्च गरे भने औसतमा १६ अर्ब ६८ करोड ४१ लाख ४० हजारभन्दा बढी खर्च हुने देखिएको हो।
आयोगका अनुसार उम्मेदवारी दर्ता गराउने महानगरपालिका प्रमुख र उपप्रमुखले जनही कुल सात लाख ५० हजार निर्वाचनमा खर्च गर्न पाउँछन्। महानगरकै वडाध्यक्ष र सदस्यले तीन लाख खर्च गर्न पाउनेछन् ।
उपमहानगरपालिकाको प्रमुख र उपप्रमखले जनही पाँच लाख ५० हजार तथा उपमहानगरकै वडाध्यक्ष र सदस्यले दुई लाख ५० हजार खर्च गर्न पाउनेछन्।
नगरपालिकाकाको प्रमुख र उपप्रमुखले जनही चार लाख ५० हजार तथा अध्यक्ष र सदस्यले दुई लाख खर्च गर्न पाउने व्यवस्था गरेको निर्वाचन आयोगको आचारसंहितामा उल्लेख छ।
गाउँपालिका अध्यक्ष र उपाध्यक्षले तीन लाख ५० हजार र वडा सदस्यले एक लाख ५० हजार खर्च गर्न पाउनेछ । स्थानीय तहकै जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखले दुई लाख ५० हजार र सदस्यले एक लाख ५० हजार खर्च गर्न पाउने व्यवस्था गरेको छ।
दर्ता भएका ४९ हजार ७१ उम्मेदवारमध्ये नगर प्रमुख÷गाउँपालिका अध्यक्ष पदमा एक हजार ९२५ र नगर उपप्रमुख÷उपाध्यक्ष पदमा एक हजार ४२९ जनाको उम्मेदवारी परेको छ। त्यस्तै वडाध्यक्ष पदमा १० हजार ८४१, वडा सदस्य (खुला)मा १८ हजार ३७१, महिला सदस्य पदमा नौ हजार ३३ र दलित महिला सदस्य पदमा सात हजार ४७२ जनाले उम्मेदवारी दर्ता गरेका छन्।
तीनवटै प्रदेशमा गरी चार महानगरपालिका, एक उपमहानगर, ९२ नगरपालिकाका प्रमुख, उपप्रमुख तथा १८६ वटा गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि मनोनयन दर्ता भएको हो।
त्यस्तै, निर्वाचनमा महानगरका १२३, उपमहानगरका १९, नगरपालिकाका एक हजार ९१ र गाउँपालिकाका एक हजार ३६५ गरी जम्मा दुई हजार ५९८ वडाध्यक्षका लागि मनोनयन दर्ता भएको छ । साथै कुल दुई हजार ५९८ वडाका लागि चार सदस्यका दरले जम्मा १० हजार ३९२ वडा सदस्य पदका लागि मनोनयन भएको छ।
आयोगले तोकेअनुसारकै खर्चमा निर्वाचन सम्पन्न होला त भन्ने प्रश्न सर्वत्र छ । विगतको निर्वाचन र राजनीतिक दलको गतिविधिका आधारमा तोकेको सीमाभन्दा कयौँ गुणा बढी खर्च हुने अनुमान गरिएको छ।
बैङ्किङ क्षेत्रका विज्ञ भास्करमणि ज्ञवालीका अनुसार निर्वाचन आयोगले तोकेको मापदण्डमा स्थानीय तहको निर्वाचन सम्भव छैन। अहिलेको महङ्गी र राजनीतिक दलका नेता तथा उम्मेदवारका गतिविधिले खर्च कयौँ गुणा माथि जाने देखिएको छ।
ज्ञवाली भन्छन्, “उम्मेदवार र मतदाता आश्वस्त हुन निर्वाचन आयोगले तोकेको खर्च पर्याप्त हुँदैन । देखिने र नदेखिने खर्चको अन्तर बढी हुन्छ ।”
सामान्यरुपमा निर्वाचन आयोगले तोकेको खर्चले धान्न सक्ने अवस्था छैन। उम्मेदवारको गतिविधिले आयोगले तोकेभन्दा बढी खर्च गरिसकेका छन्। निर्वाचन सकिँदासम्म एकै उम्मेदवारले लाख होइन करोड खर्च गर्ने देखिएको छ।
निर्वाचन आयोगले मतदाता नामावली खरिद, सवारीसाधन, इन्धन, प्रचार सामग्री, गोष्ठी, कार्यकर्ता परिचालन, प्रचारप्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन तथा विविध शीर्षकमा खर्च छुट्याएर उक्त रकम प्रदान गरेको हो।
हजारौँ जनप्रतिनिधि चुनिने यस महान् अवसरमा ‘स्वतन्त्र र निष्पक्ष निर्वाचनः राष्ट्रको गौरव’ भन्ने नारामै सीमित त हुने होइन भन्ने प्रश्न सर्वत्र छ। नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा भन्छन्, “निर्वाचन आयोगले तोकेभन्दा धेरै गुणा निर्वाचन खर्च बढ्छ । यसले अपारदर्शिता बढाउँछ ।”
दोस्रो चरणमा हुने प्रदेश नं १, २, ५ र ७ मा हुने निर्वाचनमा झनै खर्च बढ्ने स्पष्ट देखिन्छ। निर्वाचनका लागि सरकारले आयोगलाई उपलब्ध गराएको १० अर्ब २९ करोड पनि अपुग हुने र खर्बौं खर्च हुने देखिएको छ। रासस