
काठमाडौंः ललितपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रका तर्फबाट नगरप्रमुख र उपप्रमुखका उम्मेदवारले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्।
माओवादीका तर्फबाट नगरप्रमुखका उम्मेदवार दिनेश महर्जनले प्रतिबद्धतापत्र सार्वजनिक गर्दै स्वास्थ्य र शिक्षा क्षेत्रको विकासमा प्रमुख जोड दिने बताए। उनले ललितपुरका विभिन्न स्थानमा १५ शैयाको अस्पताल बनाउने र निःशुल्क उपचारको प्रबन्ध गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
विपन्न परिवारका बालबालिकालाई निःशुल्क उच्च शिक्षाको व्यवस्था गर्ने, खानेपानीको समस्या समाधान गर्ने, व्यवस्थित सहरीकरण, सफा र सुन्दर शहर बनाउनेलगायत आफनो योजना रहेको बताए।
भौतिक पूर्वाधार निर्माणमा जोड दिएको माओवादी केन्द्रले पहिलो पटक उपमहानगरबाट महानगरमा प्रवेश गरेको ललितपुरलाई व्यवस्थित बनाउनु नै पहिलो सर्त रहेको महर्जनको भनाइ छ।
महानगरभित्र उचित ढल निकासको प्रबन्ध गर्ने, जमिनमुनिको पानीको उचित प्रयोग गर्दै रिचार्ज गर्ने प्रणालीको विकास गर्ने, फोहोरबाट बिजुली, ग्यास निकाल्ने र कम्पोस्ट मल कारखाना स्थापना गरी कृषि क्षेत्रको विकासमा जोड दिने महर्जनका योजना छन्।
त्यस्तै, उपप्रमुखका उम्मेदवार हसिना शाक्यले अन्य राजनीतिक दलको भन्दा आफ्नो पार्टीको व्यावहारिक र वस्तुनिष्ठ योजना अगाडि सारिएको बताइन्।
ललितपुर महानगरका लागि कुल १६७ जनप्रतिनिधि चयन हुनेछन्। त्यसका लागि २६० मतदान केन्द्र तोकिएको छ। रासस