काठमाडौँ : शिवपुरी ड्रिङकिङ वाटर कम्पनीमा सोमबार विहान अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ।
पेट्रोल बमबाट उद्योग र उद्योगमा रहेको सवारी साधनमा क्षति पुगेको छ। यो उद्योग गोल्फुटारमा छ। कम्पनीका संचालक रमेश महत हुन्। महत पूर्व अर्थमन्त्री डा रामशरण महतका पिए हुन्।
बिहान पाँच बजे मास्क लगाएका एक हुल समूह आएर उद्योगका सुरक्षा गार्डलार्इ बन्दी बनाएर पेट्रोल बम फालेको महतले बताए। महतका अनुसार पेट्रोल बमबाट उद्योग परिसरमा रहेको टोयाटाको यारिश कार र होन्डाको साइन मोटरसाइकलमा क्षति पुगेको छ। यो बाहेक उद्योगको प्लान्टमा समेत क्षति पुगेको छ। बम प्रहारबाट झण्डै ६० लाख रुपैयाँ क्षति भएको प्रारम्भिक अनुमान रहेको छ।
उनले ६ महिनाअघि नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादीले चन्दा मागेको तर चन्दा दिन अस्विकार गरेको कारण घटना भएको हुनसक्ने बताए।
'६ महिनाअघि विप्लव माओवादीबाट चन्दाका लागि पत्र आएको थियो। तर मैले चन्दा नदिने अडान राखे' उनले बिजमाण्डूसँग भने,यो अराजकता हो।