PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

भक्तपुरमा चुनावी रौनकः उम्मेदवारहरु घरदैलो अभियानमा



रासस

भक्तपुरमा चुनावी रौनकः उम्मेदवारहरु घरदैलो अभियानमा

भक्तपुरः मतदानका लागि पाँच दिनमात्र बाँकी हुँदा भक्तपुरको मध्यपुरथिमी नगरपालिकामा कांंग्रेस र एमालेको र्याली अघिपछि गर्दै घरघरमा आएपछि मध्यपुर थिमिका बासिन्दामा चुनावी रौनक थपिएको छ। 

सोमबार एमालेका मध्यपुरथिमी नगरपालिका प्रमुखका उम्मेदवार मदनसुन्दर श्रेष्ठ बाजागाजाका साथ घरदैलो अभियानमा जाँदा मतदाता उत्साहित भएका थिए। 

अगाडि नायखीं बाजा, त्यसपछि धां बाजा र बीचमा बाँसुरी बाजाका बजाउँदै समर्थकहरुको र्यालीका साथ मध्यपुर थिमिको बालकुमारी, चपाचो, दुईपोखरी, बाहाखा बजार, नगदेश, बोडे, नगरपालिका रोड हुँदै नगरपालिकाको टोलटोलमा पुगेको उम्मेदवारको टोलीलाई मतदाताले बीचबीचमा स्वागत गरेका थिए। 

मध्यपुरका बासिन्दा उत्साहित हुँदै उम्मेदवारलाई अबिर, माला र खादा लगाएर स्वागत गर्दै सगुन दिएर शुभकामना व्यक्त गरेका थिए। 

एमालेका प्रमुखका उम्मेदवार श्रेष्ठ र नेमकिपाकातर्फबाट उपप्रमुखमा उम्मेदवारी दिएका केदार खड्काले संयुक्त प्यानल बनाएकाले चुनावी माहोलमा उत्तिकै रौनक थपिएको थियो। टोलटोलमा महिला, ज्येष्ठ नागरिक र स्थानीयवासीले भव्य स्वागत गर्दा महोत्सवमय भएको थियो। 

त्यसैगरी, नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार अष्टकुमार कवेँ र उपमेयरका उम्मेदवार अञ्जना मढीकर्मीले पनि मध्यपुर थिमिमा घरदैलो गर्दा वृद्धवृद्धादेखि युवायुवतीलेसमेत भव्य स्वागत गरेका थिए। नेपाली कांग्रेसले सोमबार नगदेश, बोडे, मगर गाउँ, धुन्चेपाखा, बोडेलगायतका क्षेत्रमा घरदैलो अभियान गरेर मत मागेका थिए। 

मध्यपुरथिमीमा कहिले कांग्रेस अगाडि त कहिले एमाले अगाडि हुँदै एउटै क्षेत्रमा एकैदिन घरदैलो गरेपछि मध्यपुरका बासिन्दामा थप रौनक छाएको थियो। 

बोडेका रामचन्द्र प्रजापतिले गाउँकै मानिस फरकफरक पार्टीबाट भोट माग्न घरघरमा आउँदा रमाइलो लागेको बताउँदै यसले चुनावी उत्साह थपेको बताए। 

सोमबार नै मध्यपुरथिमिमा नयाँ शक्तिबाट प्रमुखमा उम्मेदवारी दिएका ज्ञानराम प्रजापतिले पनि घरदैलो अभियान सञ्चालन गर्दै मत मागेका थिए। माओवादी केन्द्रका प्रमुखका उम्मेदवार प्रतिमा श्रेष्ठ र उपप्रमुख सुचित्रा श्रेष्ठले पनि घरदैलो अभियान सञ्चालन गरेर भोट मागेका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell