
काठमाडौः चीन सरकारले अघि सारेको ‘वान बेल्ट वान रोड (ओबिओर) परियोजनामा नेपालले हस्ताक्षर गर्ने भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चीनबाट नेपाल भारत हुँदै युरोप जोड्ने उक्त सडक परियोजनामा हस्ताक्षर गर्ने निर्णय गरेको हो।
बैठकले त्यसका लागि उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा नेतृत्वको टोलीलाई चीन पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कुमार कार्कीले जानकारी दिए। ‘यही बैशाख २९ गते उपप्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय प्रतिनिधि मण्डल चीन जाने निर्णय भएको छ’, उनले भने ‘प्रतिनिधि मण्डलले वान बेल्ट वान रोडको एमओयूमा हस्ताक्षर गर्नेछ ।’
यस्तै, बैठकले काठमाडौं उपत्यकाको चारै नाकामा नयाँ व्यवस्थित सहर निर्माण गर्ने पनि निर्णय गरेको छ। उपत्यकामा बढ्दो चाप घटाई व्यवस्थित वसोबासका लागि नयाँ सहर निर्माणको निर्णय गरेको हो ।
बैठकले सुनसरी, मोरङ् र ताप्लेजुङ्गमा मृत्यु भएका ७ जनालाई सहिद घोषणा गर्ने निर्णय पनि गरेको छ।
त्यसैगरी, बैशाख २९ गतेदेखि थाइल्याण्ड र श्रीलंकाका लागि हुने राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय भ्रमणलाई स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ।