PahiloPost

May 14, 2025 | १ जेठ २०८२

निर्वाचन आचारसंहिता मिडियाबाटै उल्लङ्घन, एक सातामा २५ घटना



पहिलोपोस्ट

काठमाडौँ : प्रेस काउन्सिल नेपालले स्थानीय निर्वाचनका सन्दर्भमा गरेको सञ्चार अनुगमनमा एक सातामा दुई दर्जन आचारसंहिता उल्लङ्घनका घटना पहिल्याएको छ। 

निर्वाचन आयोगको सहकार्यमा यही वैशाख १९ गतेबाट व्यवस्थित रुपमा काउन्सिलले सुरु गरेको सञ्चार अनुगमनमा विभिन्न छापा, रेडियो, टेलिभिजन र मुख्य अनलाइनमा गरी २५ वटा आचारसंहिता उल्लङ्घनका समाचार पाइएको हो। 

काउन्सिलले आफ्ना नियमित नौ कर्मचारी र नयाँ १२ जना गरी कुल २१ जनशक्ति परिचालन गरी सो अनुगमन गरेको हो । राजधानी काठमाडौँबाट प्रकाशित हुने मुख्य पत्रपत्रिकाका साथै पहिलो चरणमा निर्वाचन हुने प्रदेशका सञ्चार माध्यमलाई पनि अनुगमनमा राखिएको छ। 

काउन्सिलका निमित्त अध्यक्ष किशोर श्रेष्ठले व्यावसायिक र सन्तुलित समाचार भए÷नभएको र आयोगले जारी गरेको आचारसंहिता उल्लङ्घन भए/नभएको सम्बन्धमा काउन्सिलले गुणात्मक र संख्यात्मक दृष्टिमा नमूना सर्वेक्षण विधिबाट अनुगमन गरिरहेको बताए। 

काउन्सिलका मुख्य प्रशासकीय अधिकृत झविन्द्र भुसालका अनुसार ती घटनाबारे आयोगलाई प्रतिवेदन पठाइएको र त्यसलाई चाँडै सार्वजनिक पनि गरिनेछ। भुसालले कोडिङसहित सफ्टवेयर प्रणालीबाट तयार हुने प्रतिवेदनबारे आयोगलाई दैनिक जानकारी दिइने बताए।

सञ्चार अनुगमनका लागि आयोगले काउन्सिललाई रु ३० लाख दिने सम्झौता गरेको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell