
काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) ले संविधान संशोधनको विषयलाई सरकारले वीरबलको खिचडी बनाएको आरोप लगाएको छ। सरकार, प्रतिपक्षी दल तथा राष्ट्रिय जनता पार्टीका शीर्ष तहसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा संविधान संशोधनको मुद्दा ओझेलमा पारिएको विषयले चर्को रुप लियो।
सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयकका विषयमा मधेशमा आधारित राजनीतिक दलले कडा आपत्ती प्रकट गरे। राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले संविधान संशोधन गरेरमात्र निर्वाचनमा जाने सरकारको प्रतिवद्धतामाथि प्रश्न गरिएको जानकारी दिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले उपाध्यक्ष बामदेव गौतम, गृहमन्त्री बिमलेन्द्र निधि, राजपाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अनिल झा लगायतका शीर्ष नेता सहभागी बैठकमा राजपा नेताहरुले संविधान संशोधन प्रकृया 'वीरबलको खिचडी' बनेको भन्दै आलोचना गरेका थिए।
छलफलमा सहभागी भएका नेकपा एमाले नेता सुवास नेम्वाङले राजपाका नेतासँग प्रश्न गरेका थिए, 'संविधान संशोधन गर्न खोज्नु भएको हो कि प्रकृया अघि बढोस् भन्ने खोज्नु भएको?'
उनले एमालेसँग कुनै छलफल नगरेको भन्दै संशोधन पास हुन नसक्ने तर्क अघि सारेका थिए। 'एमालेले नचाही संविधान संशोधन हुन सक्दैन,' नेम्वाङलाई उदृत गर्दै यादवले भने।
प्रत्युत्तरमा राजपा नेताले भने संविधान संशोधनमा सरकारसँग कुरा गरेको जवाफ थिए। उनीहरुले 'जसको सरकार हो हामीले उहाँहरुसँग कुरा गर्ने हो। उहाँहरुले तपाईँहरुसँग कुरा गर्नुभयो कि भएन हामीले थाहा पाउने कुरा होइन। तर, हामी सबैका ढोका ढक्ढक्याउन आउँदैनौं' भनेका थिए।
छलफलमा दोस्रो चरणको स्थानीय तहको निर्वाचन र मधेशमा स्थानीय तहको संख्या थपबारे कुराकानी भएको थियो।
प्रधानमन्त्रीले संविधान संशोधन विधेयक पारित गराउन सरकारको तर्फबाट पहल भइरहेको जानकारी दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
'योभन्दा अनुकुल परिस्थित हुँदैन,' प्रधानमन्त्रीले मधेसआधारित दलका नेतालाई सम्बोधन गर्दै भनेका थिए, 'चुनाव सक्न दिनुस्, सर्वसम्मत बनाएर संविधान संशोधन गर्छौं।'
उनले एमाले पनि संशोधनमा सहभागी हुने दावी गरे। 'उहाँहरु आउनुभएन भने पनि संविधान संशोधन पारित हुने गरी अघि बढ्छौं,' दाहालले भने।
राजपाले संविधान संशोधनको विषयलाई थाँती राखेर सल्लाह विना नै संसद जेठ ४ गतेसम्मका लागि स्थगित गरेकोमा आपत्तीसमेत प्रकट गरेका थिए।