PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

स्थानीय निर्वाचनमा कति सुरक्षित छन् उम्मेदवार?



सविन ढकाल

स्थानीय निर्वाचनमा कति सुरक्षित छन् उम्मेदवार?

काठमाडौं : एक साताअघि साँझ सवा सात बजे नयाँ शक्ति नेपालको तर्फबाट नागार्जुन नगरपालिका वडा नं. ७ का वडाध्यक्षका उम्मेद्वार दिएका मदन गिरी एकाएक सम्पर्क बिहीन भए। हराउनुअघि गिरीले आफ्नो मोबाइलबाट एउटै म्यासेज ८ जनालाई गरेका थिए - 

'मलाई चार जनाले अपहरण गरेर बानेश्वरतिर लगेका छन्।' 

उनको यो म्यासेज आएपछि मोबाइल अफ भयो। गिरी सम्पर्क बिहीन।

लगत्तै नयाँ शक्ति नेपालले विज्ञप्ति जारी गर्दै निर्वाचनमा आफ्नो उम्मेद्वारको सुरक्षा नभएको र जित्ने भएपछि अपहरण भएको दावी गर्‍यो। निर्वाचनको मुखमा नै सुरक्षित ठानिने राजधानीबाट नै उम्मेद्वारको अपहरण र उम्मेद्वार माथिको आक्रमणले सुरक्षा चुनौती माथि नै प्रश्न चिन्ह खडा गर्‍यो।
 
के निर्वाचनमा उम्मेद्वार र मतदाता सुरक्षित छैनन? 

घटनाको २ दिनपछि प्रहरीले गिरीलाई ललितपुरको गोदावरी बसपार्कमा भेट्टायो। प्रहरीको प्राम्भिक अनुसन्धानले चर्चाका लागि गिरीले 'नाटक गरेको' देखाएको छ। 

महानगरीय प्रहरी परिसरका एसएसपी छविलाल जोशी अपहरण नाटकीय भएकाले अनुसन्धान भइरहेको बताए।
 
काठमाडौं उपत्यकाको स्थानीय तह निर्वाचनमा सुरक्षाका २१ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। तीन हजार प्रहरी, चार हजार म्यादी,  चार हजार सशस्त्र र नौ हजार सेना गरी २१ हजार सुरक्षाकर्मी खटिएका छन्। के उम्मेद्वारले सुरक्षा प्रत्याभुति गरेका छन् त?
 
नेपाली कांग्रेसबाट काठमाडौंमा उम्मेदवारी दिएका राजुराज जोशी भने आफुलाई कुनै सुरक्षा थ्रेट नभएको दावी गर्छन्। पहिलोपोस्टसँगको कुराकानीमा उनले भने, 'मलाई अहिलेसम्म कुनै त्यस्तो धम्की, त्रास वा दवाव आएको छैन। त्यसैले सुरक्षित भएको महशुस गरेको छु।' 

प्रहरीले सुरक्षाको हिसाबले संवेदनशील र अति संवेदनशील छुट्याएर सुरक्षा दिइरहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी सर्वेन्द्र खनाल बताउँछन्। 
उनले भने, 'सुरक्षामा कुनै समस्या छैन। सबै व्यवस्था मिलाएका छौं।'

नेकपा एमालेबाट काठमाडौंमा मेयर पदको उम्मेद्वारी दिएका विद्यासुन्दर शाक्य पनि असुरक्षित महशुस नगरेको बताउँछन्।
 
उनले भने, 'सधै झै हिड्डुल गरिरहेको छु। असुरक्षित भए जस्तो लाग्दैन।'

विभिन्न नाकामा कडा चेकिङ, विशेष तालिमप्राप्त कुकुर र सीसी क्यामरा समेत जडान गरेर सुरक्षा दिइरहेको छ प्रहरीले। नेकपा माओवादी केन्द्रका मेयरका उम्मेद्वार सर्वोत्तम डंगोलको पनि धारणा अरु दुई उम्मेदवारको जस्तै छ।

उनले भने, 'रातदिन प्रचारमा हिडिरहेको छु। डर मान्नु पर्ने अवस्था छैन।' 

निर्वाचन प्रभावित पार्न सक्ने आशंकामा प्रहरीले टोले गुन्डादेखि नाइकेसम्म पक्राउ गरिरहेको छ। आइतबार साँझ प्रहरीले गुन्डा नाइके दीपक मानङ्गेलाई समात्यो। एसएसपी जोशी निर्वाचन सुरक्षालाई लक्षित गरेर गुन्डा नाइके प्रकाउ गरेको र अरुलाई पनि निगरानीमा राखेको बताउँछन्।

आफ्नो उम्मेदवारको अपहरण गरेको दावी गर्ने नयाँ शक्ति नेपालबाट नै काठमाडौंमा मेयरको उम्मेद्वारी दिएका पवित्र बज्राचार्य पनि उपत्यकाभित्र सुरक्षामा कुनै कमजोरी नरहेको बताउँछन्।

उनले भने, 'उपत्यकामा डर छैन। मेरा लागि जनता सुरक्षा कवच हुन्।' 

पहिलो चरणको निर्वाचनको लागि ३४ वटा जिल्लामा गृह मन्त्रालयले २३ हजार प्रहरी, २५ हजार म्यादी, १८ हजार सशस्त्र र करिब ४५ हजार सेना परिचालन गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell