काठमाडौं: हास्य कलाकार जितु नेपाल (मुन्द्रे) पहिलो पटक म्युजिक भिडियोमा देखिएका छन्। यूवा हास्य व्यंग्यकार राजा राजेन्द्र पोख्रेलको ‘पिरतीको चश्मा’ बोलको गीतमा उनी मोडलको रुपमा प्रस्तुत भएका हुन्।
जितुले मोडलिङको पहिलो अनुभव राम्रो भएको सुनाए। भने,'राजा राजेन्द्र मलाई मनपर्ने हास्यकलाकार हुन्। त्यसैले उनको गीतमा मोडलको रुपमा अभिनय गरें।' रोमान्टिक कथा बोल्ने गीतको भिडियोको लागि स्क्रिप्ट जितु स्वयंमले लेखेका हुन्। गीतको भिडियोमा जितुलाई सेलिब्रेटीको भूमिकामा प्रस्तुत गरिएको छ। यस भिडियोमा जितु नेपालका साथै नायक कलाकार प्रथम खड्का, समारिका ढकाल, स्मारिका ढकाल लगायतको अभिनय छ।
राजा राजेन्द्रको गीतमा राजुबाबु श्रेष्ठको शब्द रहेको छ भने राजनराज शिवाकोटीले संगीत भरेका छन्। राजन ईशानले संगीत संयोजन गरेको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन्। सिनेमा र कार्यक्रमहरुमा कहिले काहीँ नाचेको गीतको तालमा नाच्न आफुलाई निकै कठिन भएको जितुले बताए।
'बल्लतल्ल नाचें। नाच्न भन्दा हँसाउन सजिलो लाग्यो', जितुले भने,‘शुरु देखि नै नृत्यमा रुची राखेर सिकेको भए त सकिन्थ्यो होला। तर अहिले भने नाच्न अलि गाह्रै लाग्ने रहेछ।'