PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

काठमाडौंकै मतदाता गुनासो गर्छन्–‘मतदाता शिक्षा पाइएन’



रासस

काठमाडौंकै मतदाता गुनासो गर्छन्–‘मतदाता शिक्षा पाइएन’

काठमाडौंः स्थानीय तहको निर्वाचन आउन पाँच दिन मात्र बाँकी हुँदा पनि मतदाता शिक्षा प्रदान गर्ने व्यक्ति नभेटिएक काठमाडौंको उत्तर पूर्वी भेगका मतदाताले गुनासो गरेका छन्।

संविधानसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी दुई मतपत्रमा मत दिएकाहरु अहिले एउटै मतपत्रमा सात मत दिन पाइन्छ भन्दा अन्योलमा पर्ने गरेका छन्। प्रचारप्रसारका लागि छोटो समय भएकाले दलहरुलाई पनि प्रत्येक घरमा पुगेर मत माग्ने र हाल्न सिकाउने समय छैन। 

संविधानसभा निर्वाचनमा मतदाता शिक्षाका लागि सरकारी र गैरसरकारीस्तरबाट व्यापक रुपमा मतदाता जागरणका कार्यक्रम अघि सारिए पनि आसन्न निर्वाचनमा त्यस्तो हुनसकेको छैन। 

काठमाडौं उपत्यकाको उत्तरपूर्वी भेगका गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिकामा यातायातको पहुँचभन्दा टाढा रहेका बस्तीमा अझै मतदाता शिक्षा पुग्न सकेको छैन।

गोकर्णेश्वर नगरपालिकाको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको मूलखर्कका बासिन्दा मङ्गलबहादुर तामाङले अहिलेको निर्वाचनमा कसरी मतदान गर्ने भन्ने अझै थाहा पाउन नसकिएको बताए। 

उनले मत कसरी र कति जनालाई हाल्ने भन्नेमा आफूहरु प्रष्ट हुन नसकेको गुनासो गरे।

कागेश्वरी मनोहरा नगरपालिकाका गागलफेदी र कागेश्वरी, शङ्खरापुर नगरपालिकाका वज्रयोगिनी, चौकीभन्ज्याङ र पटापलगायत दुर्गम स्थानमा पनि मतदाता शिक्षा पुग्न नसकेको स्थानीय मतदाताको गुनासो छ ।

नगरपालिकाको सुगम मानिएका जोरपाटी, गोकर्ण, मूलपानी, इन्द्रायणी, साँखुलगायत स्थानका कुना कुनाका मतदाताले पनि यस पटक कसरी मतदान गर्ने भन्ने थाहा पाउन नसकिएको बताए। 

निर्वाचन अधिकृतको कार्यालयले मतदाता शिक्षा दिन सरल र सहज तरिका नअपनाए निर्वाचनमा धेरै मत बदर हुन सक्ने सम्भावना देखिएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell