PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

चुनावमा सेलिब्रेटीको सुझाव : हाम्रालाई होइन राम्रालाई 



आकाश क्षेत्री

चुनावमा सेलिब्रेटीको सुझाव : हाम्रालाई होइन राम्रालाई 

काठमाडौँ : स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दल तथा स्वतन्त्र तर्फका उम्मेद्वारहरु आफ्ना कार्यकर्तासहित निर्वाचन प्रचार/प्रसारमा लागेका छन्। उम्मेद्वारहरु घरदैलोमा पुगेर भोट मागिरहेका छन्। मतदाताले भने भोट दिने उम्मेद्वार परीक्षण गरिरहेका छन्। 

विभिन्न राजनीतिक दलका सर्मथकहरु आफ्नो दलका आगामी योजनाबारे बताइरहेका छन् भने त कतै मतदाता राजनीतिक दलहरुलार्इ गाली गरिरहेका भेटिन्छन्। 

यो समयमा बाटो, चिया पसल, कार्यालय होस् या सार्वजनिक सवारीको यात्रा, चुनावी विमर्श जारी छ।    

चुनावी रौनकले सामाजिक सञ्जाललार्इ पनि रंगाउन छुटाएको छैन। सामाजिक सञ्जालमा नेता होस् या कार्यतकर्ता झन् सक्रिय। मतदातालाई पनि विशेष चुनावी रौनक छ – मन खोलेर आफ्ना कुरा राख्न।

लेखक बुद्धिसागरले सामाजिक सञ्जाल टुइटरमा उम्मेद्वारलार्इ सुझाव दिँदै 'काठमाडौंमा ठूला ठूला रेल गुडाउने सपना देखाउनु भन्दा सरकारी ट्याक्सी र सरकारी बस मात्र संचालन गरे जनतालार्इ धेरै राहत हुने कुरा उल्लेख गरेका छन्। 

बुद्धिसागर लेख्छन्, ‘रेल त त्यस्तै हो। काठमाडौंमा सरकारी बस र ट्याक्सी चलाउन सकियो भने अहिलेलाई लाख हुन्छ।’


गाउँ शहरका सबै उम्मेद्वारलार्इ राम्ररी चिनेर बस्नुपर्छ। चुनाव जितेर काम गरेनन् भने नेताहरुले चुनावमा दिएका घोषणापत्र देखाउन काम लाग्नेछ। यस्तै कुरा सामाजिक सञ्जाल टुइटरमार्फत आम मतदातालाई  सुझाव दिएका छन् सिनेमा निर्देशक निश्चल बस्नेतले। उनले नजिकका आफन्त वा साथीभाइ भन्दा असल काम गर्ने राम्रा उम्मेद्वारलार्इ मत दिनुपर्छ भन्ने कुरामा जोड दिएका छन्।  

निश्चल लेख्छन्, ‘आफ्नो गाउँ शहरका उमेद्वारलाइ राम्ररी चिनौं, काम नगरे घोषणापत्र कोच्न काम लाग्छ। भोट चैं हालम हाम्रालार्इ हैन राम्रालाई जयनेपाल।’
 
हामी नेपाली कतिन्जेल दलहरुको गुलामी गरेर बस्ने? कतिन्जेल अर्कैको लहलहैमा राखेर भोट हाल्ने?  टुइटरमा यस्तै विचार पोखेकी छन् पत्रकार समा थापाले। मतदातालार्इ सुझावको रुपमा अरुले लहलहै र चाकडीमा भोट नहालेर एउटा आम नेपालीको रुपमा मतदान गरेर देशमा परिर्वतन आउने/नआउने कुरा नियाल्न भनेकी छिन्।  

थापा लेख्छिन्, ‘दलका कार्यकर्ता हनुमान र आसेपासे नबनिकन आम नेपालीका रुपमा यो पटक मतदान गरौ न । अनि हेरौ के परिवर्तन आउँदो रहेछ।’
सामाजिक सञ्जाल टुइटरमा अभिनेता तथा लेखक खगेन्द्र लामिछानेको चुवानी टिप्पणीमा चुनाव नजिकिरहेकै वेला सत्तारुढ दलको व्यवहार निभ्ने बेलाको तत्व जस्तै भएको बताएका छन्। 

लामिछानेले अब पुराना राजनीतिक दलको समय गएको र नागरिकहरुको नयाँ दलमा आकर्षण बढिरहेको कुरा उल्लेख गर्दै लेखेका छन्,‘निभ्ने बेलाका बत्ती अलि चर्कै बल्छन्। चुनावको छेकोमा सत्तारुढ दलले त्यस्तै छाँट देखाए। अब पक्कै पनि नयाँ दलतिर नागरिक आकर्षण बढ्ने छ।’
हरेक राजनीतिक दलहरुले आममतदातालार्इ आफ्नो चुनाव चिन्हमा मतदान गर्नुहोस् भन्नु जायज छ। तर, जनतालार्इ विभिन्न प्रलोभनमा पार्नु जायज नभएको लेखक तथा स्तम्भकार झलक सुवेदीको धारणा छ। सामाजिक सञ्जालमा टुइटरमा लेख्छन्, ‘चिन्हमा छाप लागाउनुस, रोटीमा मत दिनुस् भन्नु ठीक हो। रोटीले यो गर्छ घामले त्यो गर्छ भनेर मत माग्नु चै बकवास बाहेक के होला र?’  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell