- नारायण ढुङ्गाना
दाइ! चुनाव लागेको छैन ? पदमबहादुर राना मगर जुरुक्क उठे, “खै चुनाव छ भन्थे क्यारे अरुले त, हामीलाई त था छैन, चुनाव आ’छ कि छैन भनेर । कोही नेताहरु नि आ छैन भोट माग्न।”
“अनि भोट हाल्नचाहिं नजाने उसो भए ?” अर्को प्रश्नमा पदमबहादुरले भने – “नेता आए हाल्ने हो क्यारे, को खोजेर जान्छ र भोट काँ हाल्ने भन्दै ?”
चितवन निकुञ्जको पश्चिम भारतीय सिमानामा पर्ने वाल्मीकि आश्रमका उनी पहिले जितेकाले पनि केही काम नगरेको गुनासो गर्छन्। सुकुम्बासी बस्तीमा नयाँ घर बनाइदिन्छु भनेर अघिल्लो निर्वाचनमा भोट माग्न आएका थिए। नेताको आश्वासन अझै उनलाई ताजै छ। तर अहिलेसम्मै फर्केर आएनन्। त्यही भएर नेताहरुप्रति उनको ठूलो वितृष्णा छ।
चितवनको माडी नगरपालिका वडा नं ३ मा पर्छ वाल्मीकि आश्रम। चौध घर रहेको यो बस्ती चितवन निकुञ्जको पश्चिम अन्तिम भाग भारतीय सीमामा छ। जिल्ला सदरमुकाम भरतपुरबाट करिब १२० किलोमिटर टाढा सवारी यात्रामा नवलपरासी हुँदै भारत छिचोलेर जानुपर्ने बाध्यता छ।
धार्मिक पर्यटकीय क्षेत्र हो वाल्मीकि आश्रम छ। सीता पातल भासिएको, लवकुश जन्मिएर शिक्षा आर्जन गरेको र वाल्मीकिले यही बसेर रामायण लेखेको भनाइ छ। आश्रमसँगै जोडिएको चौध घर सुकुम्बासीको बस्तीमा ६० जनाको जनसङ्ख्या छ भने ३५ जना मतदाता छन्।
जिल्लाका अन्य क्षेत्रमा घरघरमा आ–आफ्ना पार्टीका झन्डा फहराइएका छन्। अन्य गाउँमा चुनावी नारा घन्किरहेका छन्। चुनावी गीत बजाउँदै दलका नेता कार्यकर्ता नाचगानकासाथ भोट मागिरहेका देखिन्छन्। छिमेकी त्रिवेण सुस्तामा पनि चुनावी माहोल चर्को छ।
तर यो गाउँमा अहिले चुनाव आएको पत्तै छैन। गाउँ सुनसान छ। न त कसैको घरमा झन्डा छन् न चुनावी प्रचारमा कोही नेता आएका छन्। न स्थानीयवासीमा उत्साह छ। मतदाता शिक्षा स्वयंसेवकहरु समेत यहाँ नआएको स्थानीयवासीले बताए।
सूर्य गुरुङको घरमा चार भोट छ। एकमात्र गुरुङ परिवार रहेको यो ठाउँमा १३ घर मगरका छन्। चुनावमा भोट माग्न भारतीय भूमि हुँदै आउनुपर्ने भएकाले नेताहरु आउँदैनन्।
डुङ्गाबाट जान नेताहरुलाई समय छैन। नवलपरासीको त्रिवेणीधामबाट नारायणीमा डुङ्गा तरेर आधाघन्टाको बाटो जङ्गल हिँडेपछि भेटिन्छ वाल्मीकि आश्रमको यो गाउँ । “खै अभितक त हामीकोमा कोही पनि आउनु भा’छैन, चुनाव खै २९ हो कि ३१ गते हो भन्ने सुन्या थेँ रेडियोमा” – सुर्य गुरुङले भने।
गाउँलेहरु पत्रकारप्रति भरोसा गर्छन्। “चुनावका बारेमा भन्न आएको पहिलो नै तपाईंहरु हो,” सूर्यले भरोसा गरे– “अब यसो पहल गर्दिने हजुर जस्तो पत्रकार नै हुनुहुन्छ, अरु पहल गर्ने मान्छे को छ र ? के गर्नु, नेतालाई जिताइयो, एक दिन पनि आ’छैन जितेपछि।”
पहिले जितेर गएका नेता नफर्कंदा उनीहरु राजनीतिप्रति कटाक्ष गर्छन्। “पहिले चुनावमा नेताहरु आ’थे, यसो उसो भन्छन् आफ्नो काम लिएपछि सिद्धियो, अब त आयो भने एउटा भोटको १० हजार” – यमबहादुर मगरले भने।
एकजना वृद्ध खड्गबहादुर राना मगर मध्यघाम छल्न पिंढीको खाटमा सुतिरहेका थिए। राम्ररी आँखा नदेख्ने उनको बोली चहकिलो थियो। उनको भनाइमा उनी ९४ वर्षका भए । नागरिकता प्रमाणपत्रले ७५ वर्ष देखाउँछ। उनीसँग चुनावबारे सङ्क्षिप्त कुरा भयो।
चुनाव कहिले हो थाहा छ बा ?
छैन, अहिले हामी भाराभूरीको हो र, ठूल्ठूलो हाकिमहरुको हैन र १
कसैले भनेको छैन तपाईंलाई ?
भनेको छैन क्यारे, चुनाव आ’को नि था छैन, चुनाव त भन्दै छन्, के के हो के के, आजकालको कानुन बुझिन्न ।
यही वैशाख ३१ मा हो नि त चुनाव ।
(आश्चर्य मान्दै) हो र १ वैशाख पनि त अब कति छ र ? मतदाता शिक्षा दिने स्वयंसेवक पनि आ छैन ? कोही पनि आ छैन।
अरु को आयो त चुनावको कुरा गर्न ?
छैन, तपाईंहरु नै हो।
घर चितवन, भोट नवलपरासी
उनीहरुको घर चितवनको माडी नगरपालिका–३ मा पर्छ। नागरिकता चितवनकै छ। तर मतदाता नामावली भने नवलपरासीको छ। नागरिकता बनाउन जाँदा टाढा भयो भनेर बसाइँसराइ गरेर त्रिवेणी सुस्तामा पत्र काटिदिएर पठाएकाले बसाइँ चितवन र मत खसाल्ने नवलपरासी भएको सूर्य बताउँछन्।
त्रिवेणीबाट भोट माग्न नआएको र चुनावका बारेमा कसैले जानकारी नदिएकामा उनीहरु दङ्ग छन्। त्यसैले सुनसान छ वाल्मीकि आश्रम गाउँ । सोमबार कुनै घरमा निर्वाचन लागेको आभास थिएन। यहाँ २०२४÷२५ सालदेखि बस्ती बसेको हो।
पाल्पा, सिन्धुलीलगायत जिल्लाबाट आएर उनीहरु बसेका छन् । स्थानीय यमबहादुर सारु मगर चितवन अपायक भएकाले यतै भोट हाल्न मिलाइदिएको बताउँछन्।
नवलपरासीका जिल्ला निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारी त्रिवेणी सुस्ता गाउँपालिकाबाट छुट्टिएर सुस्ता गाउँपालिका र विनयी त्रिवेणी सुस्ता गाउँपालिका बनेकाले ढिला भएको भन्दै छिट्टै मतदाता शिक्षा स्वयंसेवकहरु खटाउने बताउँछन्।
भारतकै भरोसा
यमबहादुर मगरका अनुसार यहाँका सबैको बजार भारत हो। भारतमै कमाउन जान्छन्। गाउँका १० युवक अहिले कमाउन भारत गएका छन् । भोट हाल्नचाहिँ सबै नवलपरासी जान्छन्। आफ्नै देशबाट जाने भरपर्दो बाटो छैन।
डुङ्गाबाट जान पर्यटकलाई प्रतिव्यक्ति १०० पर्छ। स्थानीयवासीलाई ५० लाग्छ । “एकमुठी नुन घटे पनि भारत नै जानुपर्छ, यताबाट जाँदा डुङ्गामा ५० रुपैयाँलिन्छ। त्यसले तीन पोका नुन आउँछ” – सूर्यले अनुभव सुनाए।
विसं २०३५ मा सिन्धुलीबाट आएका हुन् सूर्य। अहिले उनी आश्रम रेखदेख गर्छन्। गाउँमा अहिले खानेपानीको पनि राम्रो प्रबन्ध छैन। गाउँमा सौर्य बत्ती भने जोडिएको छ। शौचालयका सामग्री त्यसै थन्किएका छन्।
खोलाको पानी पिउनुपर्ने बाध्यता छ उनीहरुलाई । यस्तो अवस्थाका सुकुम्बासीका बारेमा चुनावमा समेत नेताहरु नपुग्नु विडम्बना छ। रासस