
मोहाली : आइपीएल क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलाभेन पञ्जावले कोलकता नाइट राइडर्समाथि १४ रनको जित दर्ता गरेको छ। जितसँगै पञ्जावले प्लेअफमा पुग्ने सम्भावनालाई कायमै राखेको छ। १२ खेल खेलेको पञ्जावको १२ अंक छ।
हारपछि कोलकताले प्लेअफमा पुग्न अझै अर्को खेलको नतिजा कुनुपर्ने भएको छ। १३ खेलमध्ये ८ मा जित निकालेको कोलकताको १६ अंक छ। समान अंक भए पनि पुनेभन्दा कोलकता रनरेटमा अघि छ ।
मोहालीमा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जावले कप्तान ग्लेन म्याक्सवेलको ४४ र विकेटकिपर ऋदिमान साहको ३८ रनको मदतले १६७ रन बनाएको थियो।
१६८ रन पछ्याएको कोलकताका लागि क्रिस लिनको रनआउट महंगो सावित भयो। ५२ बलमा ८२ रन बनाएर खेलिरहेका लिन १८औँ ओभरमा रनआउट भएका थिए। पञ्जावको कसिलो बलिङ सामु लिनबाहेक अन्य खेलाडीको प्रदर्शन उल्लेख्य रहेन।
बलिङतर्फ पञ्जावका मोहित शर्मा र राहुल तिवातियाले दुई÷दुई विकेट लिए। भने, कोलकताका कुलदीप यादव र क्रिस वक्र्सले पनि समान दुई/दुई विकेट लिए।