लहान : अङकुसे लगाई विद्युत चुहावट गर्ने १९ जनालाई मङ्गलबार पक्राउ गरी विद्युत प्राधिकरण वितरण केन्द्र लहानले कारवाही गरेको छ।
विद्युत प्राधिकरण कर्मचारी र प्रहरीको संयुक्त टोलीले अनुगमनका क्रममा विद्युतीय सामग्रीसहित पक्राउ गरेका १९ जनाबाट रु ९५ हजार जरिवाना असुल गरिएको छ।
टोलीले सिरहाको उत्तरवर्ती क्षेत्रमा रहेको लहान नगरपालिकाको बस्तीपुर, गोविन्दपुर र धनगढीमाई नगरपालिकाको विष्णुपुरकटीबाट १९ जना पक्राउ गरेको विद्युत प्राधिकरण लहान वितरण केन्द्रका प्रमुख माधवप्रसाद यादवले जानकारी दिए।
पक्राउ परेकाबाट खेतमा सिँचाइ गर्ने पाँचथान पानी तान्ने मोटर, पङ्खा, मेसिन, फ्रिज टिभीलगायत सामग्रीसमेत बरामद गरिएको प्रमुख यादवले बताए। लहान इलाकामा करिब ४०.४४ प्रतिशतभन्दा बढी विद्युत चुहावट भइरहेकाले अनुगमनमा कडाइ गरिएको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले जनाएको छ। रासस