PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

एमाले-राप्रपाको राजनीतिक प्रेम : सन्तान राजाराम 



सविन ढकाल

एमाले-राप्रपाको राजनीतिक प्रेम : सन्तान राजाराम 

काठमाडौं : राजा ज्ञानेन्द्र शाहको शासनकालमा काठमाडौं महानगरपालिकाको मेयर बनिसकेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजाराम श्रेष्ठ गणतन्त्र नेपालको महानगरमा भने एक पद तल झरेर उपमेयर बन्ने दौडधुपमा छन्।

२०३६ सालमा विद्यार्थी राजनीतिबाट सक्रिय राजनीतिमा लागेका हुन् उनी। स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र राप्रपाको राजनीतिक प्रेमबाट जन्मिएका 'एकल उम्मेदवार'का रुपमा यिनी चर्चित छन्। चर्चा यसकारण पनि छ कि काठमाडौंमा यिनकै खातिर बलियो शक्ति नेकपा एमालेले आफ्नो तय भइसकेकी महिला उम्मेदवारलाई 'ड्रप' गरायो। एमाले – राप्रपाको यो प्रेममा त्याग राप्रपाले पनि गर्‍यो – मेयरमा आफ्नो उम्मेदवारी नै नदिएर।

बिहान भरको चुनावी प्रचारले थाकेका उनी आफ्नै निवासमा सुस्ताइरहेका थिए – जतिखेर हामीले भेट्यौं। सुस्ताएको त के भन्नु, उनको कानबाट दुई वटा माबाइल तल झर्न मानिरहेकै थिएन। 

धपेडी त धेरै नै भयो – दुई दलका नेता/कार्यकर्तासँग चुनावी साँठगाँठ भ्याउनु जो छ। 

'जनताका लागि केही गर्ने भनेर लागेको छु। दौडधुप त गर्नै पर्‍यो  नि,' उनले सुनाए। 

काठमाडौं महानगरपालिकाको २०६० सालमा मेयर भइसकेका उनी अहिले त्यसैको ब्याजस्वरुप जित पाउने दावी गर्छन्। भन्छन्, 'मैले महानगरमा हुँदा गरेका कामले नै उपमेयरमा विजय हुनेछु।' राजा ज्ञानेन्द्रले गराएको त्यो निर्वाचनमा प्रमुख दलहरु भने सहभागी भएका थिएनन्।

महानगरपालिकाको मेयर भइसकेका उनले उपमेयरमा उम्मेद्वारी दिँदा अचम्म मान्नेहरु पनि छन्। आखिर किन त एक पटक मेयर भइसकेका श्रेष्ठले घटुवा हुँदै उपमेयरमा उम्मेद्वारी दिएको?

उनले आफू उपमेयरमा उठेर महिलालाई स्थान दिएको बताए। 

'महिलालाई स्थान दिएको हुँ। यो मेरो महिलाप्रतिको सम्मान हो।'

उनको यो तर्क सुन्दा याद आयो विवेकशील पार्टीकी उम्मेदवार रञ्जु दर्शनाको। दर्शना काठमाडौं महानगरपालिकाकी एकमात्र महिला मेयर उम्मेदवार हुन्। तर, उनले रञ्जुका लागि भोट मागेका होइनन्।

महानगरको चुनावी अजेन्डा प्रदुषणमै केन्द्रित छ। यसबाट उनी कसरी चोखो रहनु? महानगरको सडक खाल्डा भएको ५ मिनेटमा नै टाल्ने दावी समेत छ उनको। श्रेष्ठले भने, 'महानगरको सडक कहीँ कतै बिग्रिँदैन। सडक टाल्ने अलकत्रा तयारी राख्छु। ५ मिनेटमा नै मर्मत गर्छु।' 

२४ वर्ष पत्रकारितामा बिताएका उनी वाक कलामा निपूण छन्। साप्ताहिक मञ्च, जनज्योति, नेपाली पत्र लगायतका पत्रपत्रिकामा उनले काम गरिसकेका छन्। मीठो शैलीमा आफ्ना घोषणालाई जनताको भोटमात्र तान्ने गफ नभएको दावी गर्छन्। नदीनाला सफाइदेखि विद्यालयसम्म निःशुल्क शिक्षाको नारा लिएर भोट मागिरहेका श्रेष्ठ  'अरुले गफ गर्छन् तर म काम गर्छु' भन्न अकमकाउँदैनन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell