
वासिङ्टन : अमेरिकाको वासिङ्टन डीसीमा नेपाली फिल्महरुको अन्तराष्ट्रिय महोत्सव सम्पन्न भएको छ। मे ५, ६ र ७ मा पहिलो नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गरिएको हो।
महोत्सवको उद्घाटन सत्रमा दीपक रौनियारद्धारा निर्देशित अन्तर्राष्ट्रिय पुरस्कार विजेता चलचित्र ‘सेतो सुर्य’, प्रदर्शन गरिएको थियो।
महोत्सवमा नेपाली दुतावास वासिङ्टन डि.सी.का मिसन उपप्रमुख जीवन प्रकाश श्रेष्ठ तथा नेपालका लागि पुर्व अमेरिकी राजदुत स्कट डेलीसी सहभागि भएका थिए।
महोत्सवको अवधिमा नेपाल पानोरामा,अन्तर्राष्ट्रिय सिनेमा,फर्केर हेर्दा नेपाली सिनेमा र साइडबार गरी नेपाल, अमेरिका र दक्षिण एसियाका २० वटा चलचित्र प्रदर्शन गरिएका थिए। प्रतिष्पर्धामा रहेका चलचित्रहरुलाई नेपालका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त निर्देशक नवीन सुब्बा जुरी प्रमुख, ग्लोबल पीस फिल्म फेस्टिभलकी नीना स्ट्रिच र इरानका निर्देशक फारिद बोजोर्गमेहर सदस्य रहेको ३ सदस्यीय जरीले चार वटा विधामा पुरस्कारको घोषणा गरेका थिए।
जुरीले घोषणा गरेका उत्कृष्ट चलचित्रहरुमा कथानक तर्फ राजन कठेतद्धारा निर्देशित ‘शेर्ढाक द गोल्डेन हिल’, डकुमेन्टी तर्फ जर्मनी निर्देशक सुसन ग्लोथको ‘उर्मिला माई मेमोरी इज पावर’, शर्ट फिल्म तर्फ निर्देशक विभुषण बस्नेत र पूजा गुरुङको ‘दद्या’, र स्पेशल जुरी मेन्सन अवार्ड तर्फ अमेरिकी निर्देशक एन्डी कक्रमको ‘शेर्पा स्ट्यु’ रहेका छन्।
युनिभर्सिटी अफ मेरील्याण्डको हफ थिएटरमा उद्घाटन भएको चलचित्र महोत्सवको समापन एएफ आई सिल्भर थिएटरमा भएको थियो। समापनमा चलचित्र ‘कालो पोथी’को प्रदर्शन पछि निर्देशक मिन बहादुर भामले अन्तरक्रिया गरेका थिए।