हेटौंडाः स्थानीय तह निर्वाचनमा मकवानपुरको आठ गाउँपालिका र थाहा नगरपालिकाका मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित निर्वाचन टोली आज बिहान पुगेको छ।
मुख्य निर्वाचनको कार्यालय मकवानपुरका अनुसार हेटौंडा उपमहापालिकाको १९ वडामा बिहीबार बिहानसम्म निर्वाचन टोली पुगिसक्ने छ। मकवानपुरका कुल २९५ वटा मतदान केन्द्रमा बिहीबार बिहान १० बजेदेखि मतदाता परिचयपत्र वितरण सुरु गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख गोविन्दप्रसाद पौडेलले जानकारी दिए।
त्यसैगरी, पाँच सयसम्म मतदाता रहेको मतदान केन्द्रमा पाँच जना र सोभन्दा माथि मतदाता रहेको केन्द्रमा मतदान अधिकृतसहित छ जना कर्मचारी खटिनेछन्।
मकवानपुरको कुल २९५ वटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरी एक हजार ८ सय ५० जना कर्मचारी खटिएका छन्।
मकवानपुरमा बाग्मती, कैलाश, इन्द्रसरोवर, बकैया, भीमफेदी, राक्सीराङ, मनहरी र मकवानपुरगढी गरी आठ गाउँपालिका छन्।रासस