PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

बाबुरामको प्रश्नमा प्रमुख निर्वाचन आयुक्तको जवाफ - 'उदाहरण इन्डियाका मात्र हुँदैनन्' 



रमेश वाग्ले

बाबुरामको प्रश्नमा प्रमुख निर्वाचन आयुक्तको जवाफ - 'उदाहरण इन्डियाका मात्र हुँदैनन्' 

काठमाडौँ : नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवबीच निर्वाचन आयोगले आचार संहिता परिपालनका लागि डाकेको शीर्ष बैठकमा मतगणनाको विषयलाई लिएर दुई जनाबीच सवाल जवाफ भयो। 

'निर्वाचन दुई चरणमा हुने हो भने पनि मतगणना निर्वाचन सकिएपछि मात्र हुन्छ, यो अन्तर्राष्ट्रिय अभ्यास पनि हो,' नयाँ शक्तिका संयोजक भट्टराईले भने, 'तर यहाँ निर्वाचन सकिए लगत्तै मतगणना गर्ने भनिँदैछ। यो निर्वाचनलाई प्रभावित पार्ने काम रोकिनुपर्छ।' 

उनले निर्वाचन पहिलो चरणमा गरेर तत्काल मतगणना गर्नु भनेको दोस्रो चरणको मतदान प्रक्रियालाई प्रभावित पार्ने लक्ष्य ठहर हुने बताए। 
भारतमा भर्खरै भएको चुनावमा समेत तीन चार चरण गरेर मतगणना एकैपटक गरिएको उदाहरण प्रस्तुत गर्दै त्यसो नभए आफूहरुलाई मान्य नभएको बताए। 

उनको पार्टीसँग एउटै चुनाव चिह्नमा चुनाव लडेको दल संघीय समाजवादी फोरमका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले पनि दुई चरणमा हुने चुनावमा दुवै चरणको मतगणना मान्य नहुने बताए। 

उनीहरुको सवालमा प्रमुख निर्वाचन आयुक्त यादवले ठाडो जवाफ फर्काएका थिए। 'निर्वाचन आयोग कानुन र नियम अनुसार मात्र चल्छ,' यादवले प्रश्न गरे, 'कानुन तपाईँहरु बनाउने अनि गुनासो हामीसँग गर्ने? के अब आयोगले कानुनको परिपालना नगर्ने?' 

यादवले अन्तर्राष्ट्रिय अभ्यास पनि फरक फरक भएको भन्दै एउटै मात्र देशको उदाहरण नल्याउन भट्टराईलाई आग्रह गरे।

'अन्तर्राष्ट्रिय अभ्यास पनि विभिन्न प्रकारका छन् भारतको मात्र उदाहरण हेरेर हुँदैन,' यादवले भट्टराईलाई भने, 'एक महिनासम्म मतपेटिकाको सुरक्षा गर्ने हाम्रो क्षमता छ? भोलि मतपेटिकाको सुरक्षामा प्रश्न उठ्यो भने कसले जिम्मा लिने?' 

उनले निर्वाचन आयोगले नसक्ने भन्दै कुनै हालतमा मतगणना नरोकिने बताए। 

'भारतको मात्र उदाहरण नहेर्नुस्, हाम्रोमा पनि ५४ सालमा दुई चरणमा चुनाव हुँदा दुई चरणमै मतगणना भएको छ। यहाँको पनि उदाहरण हेरिदिनुस्' यादवले भने।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell