PahiloPost

Nov 25, 2024 | १० मंसिर २०८१

टिप्पणी : देउवा प्रचण्डको सहयात्रा



सूर्य खड्का

टिप्पणी : देउवा प्रचण्डको सहयात्रा

२०७४ साल वैशाख २८ गते बिहीवार। नयाँ संविधानअनुसार पहिलो चरणको स्थानीय तह चुनाव ३१ वैशाखको मतदान हुन ठीक तीन दिन अघि। सत्ता साझेदार दल नेपाली कांग्रेस र माओवादी केन्द्रका पार्टी अध्यक्ष द्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त यात्रा। एउटै जहाज, सँगै दायाँ बायाँको सिट। कुममा कुम मिलाएर हसिलो मुहारमा दुवै नेता। पहिरन पनि लगभग उस्तै,  शीरमा कालो भादगाउँले टोपी र कोट। फरक चाहिँ दौरा सुरुवालमा देउवा, कोर्ट पाइन्टमा प्रचण्ड। सँगैको यात्रा, गन्तव्य पनि समान। मिसन स्थानीय तहको पहिलो चरणको अन्तिम चुनावी सभालाई चितवनमा संयुक्त सम्बोधन। सम्बोधनको विषय पनि लगभग उस्तैउस्तै। प्रचण्डले रुखमा भोट हाल्न भन्ने अनि देउवाले घेराभित्रको हसिया हथौडामा। 

झट्ट हेर्दा, अस्वभाविक। त्यसैले दुई शीर्ष नेताको संयुक्त यात्रा सामाजिक संजालमा तात्तातो बहसको विषय बन्यो। आलोचनात्मक टिप्पणी नै बढी मात्रामा भए दुवैमाथि। कहाँको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको व्यानर मुनि हुर्केबढेको ७० वर्षे वयोबृद्ध प्रजातान्त्रिक मसिहा कांग्रेसका सभापति देउवा। अनि कहाँका साम्यवादी सत्ताको माओवादी रुझानका नेपाली बाम प्रचण्ड। राजनीतिक दर्शन, मिसन, भिजन र अभ्यासका हिसाबले मात्रै होइन, व्यवहार र चरित्रले पनि एक अर्काका पुरक हुन नसक्ने यी दुई दल र यिनका सुप्रिमोहरुको सहयात्रा। त्यसैले प्रशंसक भन्दा आलोचकहरु नै बढी देखिनु पनि उत्पातै अचम्म होइन। 

बिगतको आलोकमा, खासगरी २०५२ देखि २०६२ सम्मको युद्धकालिन नेपाललाई एक जुग मानिदिँदा, कांग्रेस लगायतका कथित दुश्मन सफाया गर्ने हिसांत्मक आन्दोलनका कमाण्डर थिए प्रचण्ड। तत्कालीन संसदीय बहुदलीय प्रजातान्त्रिक शासन व्यवस्थाका सत्ता नायक थिए देउवा। देउवाले तत्कालीन सरकार प्रमुखका हिसाबले आतंककारी घोषित भूमिगत माओवादीलाई सैनिक बलमै सिध्याउन खोजेकै हो। प्रचण्डको टाउकोको मूल्य ५० लाख तोकेर सफाया गर्नका लागि सकेको बल गरेकै हो। १७  हजार बढी सुरक्षाकर्मी तथा निहत्था जनता माओवादी बिद्रोहको प्रहारले अकारण खरानी भए। हजारौं जनमन त्रस्त र आतंकित भएकै हो। लडे देउवा र प्रचण्ड सत्ता र बिद्रोहीको भेषमा पनि, नेतृत्वकर्ता भएर। एकले अर्कालाई सिध्याउन र जित्नै अग्रसर भएका हुन, त्यो पनि हतियार र हिंसाकै बलमा। तर जितेन प्रचण्डको हतियारले, हारेनन् देउवा पनि तत्कालिन राज्य र व्यवस्थाका हिमायतीका हिसाबले। फलतः १० वर्ष लडे, अनि आखिरमा विनविन हुने गरी मिले पनि।

जसैजसै परिवर्तित समयको प्रवाहले हिंसाको राजनीतिलाई शान्तिमा रुपान्तरित गर्दै गयो, जनयुद्धका बेला एकले अर्कोलाई सिध्याउने कित्ताका देउवा र प्रचण्ड एक नदीका दुई किनार होइन,एक रथका दुई पांग्रामा बदलिँदै गए। माओवादी जनयुद्धको शान्तिपूर्ण राजनीतिक अवतरण कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको जवरजस्त हस्तक्षेप थियो। त्यो थालनीलाई त्यस यता अर्का स्वर्गवासी सभापति सुशील कोइराला र वहालवाला सभापति देउवाले पनि निरन्तरता दिएका छन्। त्यही गिरिजाकालीन कांग्रेस अभियानको निरन्तरताको एक संगठित निरन्तरताको एक बहुअर्थी अभिव्यक्ति हो बिहिबारको देउवा प्रचण्डको एकै जहाजको सँगैको सिटको चितवन सहयात्रा। सिद्धान्तलाई वेवास्ता गरिएरै अभ्यास गरिएको भए पनि यो सहयात्रा देशमा फस्टाउँदै गएको ओलीपन्थी एमाले राष्ट्रवादको प्रभावलाई झड्का भएको छ भने कांग्रेस बाहेकका बाम सबै एक ठाम हुने अभ्यासमा ब्रेक पनि लागेको छ। २०६४ मंसिर ५ को जगमा त यसलाई शान्ति सम्झौताको अधुरो यात्राको पूर्णताको कसरतका रुपमा पनि अर्थ्याइन्छ। 

भनिन्छ राजनीतिमा असंभव केही हुँदैन। नेपालको पछिल्लो ९ महिने सत्ता सहयात्राको ताजा आलोकमा कांग्रेस र माओवादी केन्द्रको सहयात्राले घरेलु तथा बाह्य धेरै राजनीतिक, कुटनीतिक क्षेत्रमा हङ्गामा मच्चाएकै हो। धेरैका लागि यो मिलन अराजनीतिक र अप्राकृतिक तरंग बनेकै पनि हो। तर नेपाली राजनीतिको कटु यथार्थ पनि यही हो की अब कांग्रेस र माओवादी फरकफरक धारका राजनीतिक प्रतिस्पर्धीमा मात्रै सीमित रहेनन्। बरु नयाँ संविधान कार्यान्वयनका एक अभिन्न सहयात्रीका रुपमा उदाए। स्वास्थ्य मन्त्री गगन थापाले आगामी संसदको निर्वाचन पनि एमालेले प्रतिपक्षमै बसेर लड्नु पर्ने हुंकार दिँदै गर्दा भावि चुनावहरुमा पनि कांग्रेस माओवादी सँगसँगै जाने तथ्य उदघाट्न भएकै छ। 
जारी स्थानीय चुनावमा कांग्रेस माओवादी बीचको तालमेलले पनि धेरैलाई झस्काएको छ। चितवन, पोखरा, दोलखा, हेटौडा, थाहा, डोल्पा लगायतका स्थानीय तहमा चारतारे कांग्रेस झण्डावालहरुले हँसिया हथौडा अंकित माओवादीलाई र माओवादीले रुख छाप कांग्रेसलाई मत मागे। उम्मेद्‍वारीमा पनि मिलिजुली गरे। यो ठूला नेताको आफ्ना पकेट उम्मेद्वारलाई जिताउने गैर राजनीतिक हर्कतका रुपमा पनि आलोचित नभएको होइन। चितवनलाई कर्म थलो बनाउँदै गरेका माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस सभापति देउवाकै भिटो प्रयोग गरेर आफ्नी छोरी रेणुका पक्षमा कांग्रेसको समर्थन मात्रै जनाएनन्, देउवालाई नै रेणुका पक्षमा मत माग्न लगाए। यसले पनि यो पार्टीगत भन्दा बढी ठूला नेताको संरक्षणवादका रुपमा पनि चित्रित भयो। तर, पनि कुल मिलाएर देखिएको परिणाम यही हो कि कांग्रेस र माओवादी एकगठ भए, स्थानीय चुनावी समरमा।

सामान्यतः भेडा भेडातिर र बाख्रा बाख्रातिर हुन्छन् भनिन्छ। तर नेपाली सत्ता राजनीति यस मान्यताबाट निकै टाढा छ। बाम एकताको बेजोड सपना साँचेर बनेको माओवादी एमालेको सत्ता गठबन्धन गत वर्ष ९ महिनामा नै धरापमा पर्‍यो। तिनै प्रचण्डले केपी ओलीको प्रधानमन्त्रीत्वमा एमाले नेतृत्वको सरकारको नाटकीय रचना र पतन गराए। तर उनै प्रचण्ड पहिलो चरणको स्थानीय चुनाव सम्पन्न गरेर सत्ता गठबन्धनलाई निरन्तरता दिँदै पुनः देउवालाई नयाँ प्रधानमन्त्रीका रुपमा सत्ताको बागडोर बुझाउन आतुर देखिएका छन। १० वर्षे हिंसा शान्तिमा बद्‍लिएपछिको नेपाली राजनीतिको केन्द्रीय भूमिकामा कांग्रेस र माओवादीको अनपेक्षित रुपमा लम्बिँदै गएको यो सत्तादेखि चुनावसम्मको एकता र सहकार्य कुरा काट्नेहरुका लागि ठूलै महाकाव्य हो। तर देशको राजनीतिलाई बेमौसमी सत्तापरिवर्तनको खेलबाट मुक्त गर्न वा संविधान कार्यान्वयन र स्थिरता र विकासका लागि भने शायद देशको युगिन आवश्यकता नै हो कि? यसको उत्तर भने समयले नै दिँदै जानेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell