PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

नेपालबाट पक्राउ परेका कुख्यात अपराधी बब्लुको भारतीय अदालत गेटमै गोली हानी हत्या



राधेश्याम पटेल

नेपालबाट पक्राउ परेका कुख्यात अपराधी बब्लुको भारतीय अदालत गेटमै गोली हानी हत्या
फाइल फोटो : http://asiansamachar.com/

वीरगञ्ज  : भारतीय कुख्यात अपराधी बब्लु दुबेको बिहार,पश्चिम चम्पारण बेतिया सहरमा गोली प्रहार गरी हत्या गरिएको छ।
 
मुद्दाको पेसीका लागि पुलिसको भ्यानबाट अदालतमा झर्दै गर्दा उनीमाथि गेटमै गोली प्रहार भएको हो। पटना जेलबाट बिहान सवा ११ बजे भ्यानमा राखेर उनलाई बेतिया कोर्ट पुर्‍याइएको थियो। 

मोटरसाइकलमा हतियारसहित आएका दुई नकाबधारीले तीन राउन्ड गोली प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको बेतिया प्रहरीले जनाएको छ। उनलाई तीन चार गोली प्रहार भएको दैनिक जागरणको बेतिया ब्युरो चिफ अनिल तिवारीले पहिलोपोस्टलाई जानकारी दिए। 

सन् २०१३ मा भारतीय मोस्ट वान्टेड अपराधी सूचिमा रहेका दुबेलाई काठमाडौबाट नेपाल प्रहरीले पक्राउ गरेको थियो। अञ्चल प्रहरी कार्यालय वीरगंजका तत्कालीन एसएसपी सर्वेन्द्र खनाल रहेका बेला विशेष सुराकीको अधारमा उनलाई पक्राउ गरी विहार पुलिसलाई बुझाइएको थियो।
 
वीरगंजका एक मारवाडी घरानाको बालकको अपहरणमा उनको संलग्नताको आरोपमा प्रहरीले उनलाई अपराध नियन्त्रण विशेष टोली परिचालन गरी काठमाडौँबाट पक्राउ गर्न सफल भएको थियो। 

भारतलाई सुम्पेपछि पटना जेलमै बसेर वीरगंजका उद्योगी सुरेश केडियाको बारा बरियारपुरबाट अपहरण गराएका थिए। 

यस्तै वीरगंज-रक्सौल सीमा क्षेत्रमा विभिन्न हत्या,अपहरण फिरौति, हातहतियार तथा चन्दा आतंक मचाएको उनी माथि आरोप छ। 

दिनदहाडै विहार पुलिसको संरक्षणमा अज्ञात अपराधी समूहले गरेको उनको हत्याले बेतिया बजार त्रसित बनेको प्रत्यक्षदर्शी बेतियाका सुरेन्द्र साहले बताए। उनको पोस्टमार्टम गरी लाश बेतिया पुलिसको जिम्मा लगाएको साहले जानकारी दिए। गोली प्रहार गरी फरार भएको अज्ञात समूहको बारेमा बेतिया पुलिस अनुसन्धान गरिरहेको छ। घटनाको आधिकारिक पुष्टिका लागि बेतिया पुलिसका एसपी विनय कुमारसँग सम्पर्क गर्दा उनको फोन उठेन।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell