PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

दोस्रो चरणको चुनावअघि नै हामी प्रधानमन्त्री भएको सरकार बन्नेछ : कांग्रेस



पहिलोपोस्ट

दोस्रो चरणको चुनावअघि नै हामी प्रधानमन्त्री भएको सरकार बन्नेछ : कांग्रेस
फाइल फोटो

काठमाडौँ : नेपाली कांग्रेसले दोस्रो चरणको निर्वाचन अगावै कांग्रेस नेतृत्वमा सरकार गठन हुने बताएको छ। पार्टीका तर्फबाट गरेको पत्रकार सम्मेलनमा निर्वाचन प्रचार प्रसार उपसमितिका संयोजक रमेश लेखकले यस्तो खुलासा गरेका हुन्।

'दोस्रो चरणको निर्वाचन अगावै नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्नेछ,'  लेखकले भने, 'माओवादी केन्द्रसँग भएको सहमति अनुरुप यही गठबन्धन अन्तर्गत नयाँ सरकार बन्ने छ र यो गठबन्धन प्राप्त उपलब्धि संस्थागत गरुन्जेल कायम रहन्छ।'

उनले माओवादीसँगको सहमति अनुसार पहिलो चरणको निर्वाचन सकिएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता हस्तान्तरण गर्ने दावी समेत गरे।

एमाले प्रतिगामी कित्तामा

लेखकले संविधान जारी गर्दा कांग्रेससँगै रहेको नेकपा एमाले स्थानीय चुनावसम्म पुग्दा प्रतिगामी कित्तामा उभिएको आरोप लगाएका छन्।

कांग्रेसको केन्द्रीय निर्वाचन प्रचारप्रसार उपसमितिका संयोजक समेत रहेका लेखकले एमालेले संविधानका आधारभूत तत्वहरुको विपक्षमा रहेको दलसँग मिलेर प्रतिगामी कित्तमा उभिएको आरोप लगाए।

'नेकपा एमालेले संविधान जारी हुँदासम्म कांग्रेससँग सहकार्य नै गरेर संविधान जारी भएको हो, यस अर्थमा उसलाई अग्रगामी शक्तिकै रुपमा हामीले साथ लिएका हौँ,'  नेता लेखकले भने, 'तर स्थानीय तह निर्वाचनसम्म आइपुग्दा संविधानको आधारभूत तत्वकै विपक्षमा रहेका दलहरुसँग मिलेर प्रतिगामी कित्तामा उभिएको छ।'

उनले एमाले जस्तो दल प्रतिगामी कित्तामा उभिनु आफैंमा संकास्पद भन्दै त्यस्तो षड्यन्त्र चिर्न कांग्रेसले भूमिका खेल्ने बताए।  

दुई तिहाई जित्ने दावी

लेखकले स्थानीय तह निर्वाचनमा कांग्रेसले करिव ६० प्रतिशत स्थानमा जित्ने दावी गरे।

'हामी अत्यन्तै उत्साहित छौं, लामो समयपछि भएको स्थानीय तहको निर्वाचनमा पार्टीको पक्षमा अभूतपूर्व लहर आएको छ,' लेखकले भने, 'प्राप्त सूचना अनुसारमा हामी ६० देखि ६५ प्रतिशत स्थानमा चुनाव जित्दैछौ।’ उनले कांग्रेसले जित्दा जनता विश्वस्त हुने तर अनरुले जित्दा हुन नसक्ने भन्दै त्यही कारण कांग्रेसको पक्षमा जनलह उर्लिएको बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell