PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

भरतपुर महानगर किन बन्यो दलहरुको 'प्रेस्टिज इस्यु' ?



पहिलोपोस्ट

भरतपुर महानगर किन बन्यो दलहरुको 'प्रेस्टिज इस्यु' ?

काठमाडौँ : चार महानगरसहित वैशाख ३१ गते देशका सातमध्ये तीन प्रदेशमा स्थानीय निर्वाचन हुँदैछ। तर राजनीतिक दलहरुबीच यतिबेला चितवनको भरतपुर महानगर 'प्रेस्टिज इस्यु' बनेको छ। 

काठमाडौँ, ललिपुर र पोखरामा चुनावी सभा नगरेका प्रमुख दलहरुले भरतपुरमा भने 'जमेर' प्रतिष्पर्धा गरेका छन्। प्रमुख राजनीतिक दलहरुबीच स्थानीय तह निर्वाचनको साख  यतिबेला भरतपुरकेन्द्रित भएको छ। 

भरतपुर महानगरमा यतिबेला कांग्रेस र माओवादी केन्द्रको गठबन्धनको तर्फबाट रेणु दाहाल मेयरकी उम्मेद्वार छिन्। पछिल्लो संविधान सभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर एकबाट उठेर पराजित भएकी रेणु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पुत्री हुन्। प्रधानमन्त्री प्रचण्ड आफै यो निर्वाचनमा भरतपुरका मतदाता हुन्। 

एमालेका उम्मेद्वार देवी ज्ञवाली भने स्थानीय नेता हुन्। यसअघि २०५४ सालको स्थानीय निर्वाचनबाट उपमेयर भएर काम गरेको अनुभव भएका कारण पनि उनी चितवनमा सत्ता गठबन्धनको तर्फबाट तय भएकी उम्मेद्वार रेणुसँग प्रमुख प्रतिस्पर्धीको रुपमा देखिएका छन्। तर राजनीतिक साखको विषय बन्नुको पछाडि भने चितवनसँग जोडिएको सत्ताको विषय छ।


बिहीबार भरतपुरमा आयोजित सभामा देउवा र प्रचण्ड। फोटो : रासस

के-के छन् कारण?

पहिलो, भरतपुरलाई प्रेस्टिज इस्यु बन्नुको मुख्य कारण प्रचण्डको राजनीतिक भविष्यसँग जोडिएको छ। प्रधानमन्त्रीसमेत रहेका प्रचण्ड भावी राजनीति चितवनबाट अगाडि बढाउन चाहन्छन्। त्यसको परीक्षण यसपटक प्रचण्डले आफ्नै परिवारको सदस्यसमेत रहेकी छोरी रेणुबाट गर्दैछन्। 
प्रधानमन्त्रीको रुपमा प्रचण्डले ठूलो बजेट रकमान्तर गरेर भरतपुरलाई आफू अनुकूल बनाउने कोशिस गरिरहेका छन्।
 
राजनीतिक विश्लेषक झलक सुवेदी भन्छन् – 'चुनाव हार्दा प्रचण्डको राजनीतिक साख कमजोर हुने र एमाले हार्दा माओवादीको विस्तार हुने देखिन्छ। यो निर्वाचनले संसदको चुनावलाई पनि प्रभावित गर्नेछ। त्यसैले साखको विषय बनेको छ।' 

'प्रचण्ड चितवनकै शारदानगरबाट यसपटक निर्वाचनमा मतदानसमेत गर्दैछन्। प्रचण्डपुत्रीलाई कांग्रेसले सहयोग नगरेको अवस्थामा केन्द्रमा कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने विषयमा समेत दरार आउने देखिन्छ', सुवेदी भन्छन्, 'माओवादी केन्द्रको विश्वास नजितेको अवस्थामा प्रचण्डले सहजै कांग्रेसलाई सत्ता दिने अवस्था नबन्न सक्छ।' 

त्यसो त चितवनको भरतपुर स्थानीय निर्वाचनको मियो बन्नुको पछाडि कांग्रेसको साख पनि जोडिएको छ। 

चितवनकै भिमोदय उच्च माध्यमिक विद्यालयका प्राचार्य डाक्टर हरिप्रसाद कँडेल पनि निर्वाचनको साख प्रचण्ड र छोरी रेणुको साथै कांग्रेससँग जोडिएको बताउँछन्। 

'प्रधानमन्त्रीकी छोरी जिताउन फोकस छ। रेणु दाहालले हार्दा कांग्रेसले पनि हार्ने अवस्था बन्छ। भरतपुर सुशील कोइराला उठेर जितेको ठाउँ हो। अन्यन्त्र कांग्रेस हारे पनि सबैभन्दा सुरक्षित ठानेर कोइराला यो क्षेत्रबाट उठेका थिए। अब त्यही ठाउँमा गठबन्धन गरेर हार्दा प्रतिष्ठाको विषय बन्छ।'  
राजनीतिक विश्लेषक झलक सुवेदी भरतपुरलाई एमालेले प्रचण्डविरुद्धको प्रहारको केन्द्र बनाएका कारण चर्चामा रहेको बताउँछन्।
 
प्राध्यापक कँडेल 'अन्तिम समयमा कांग्रेसले उम्मेद्वारी फिर्ता लिएपछि भोट अन्तै जाने चिन्ता'का कारण भरतपुर केन्द्रीय चर्चामा तानिएको बताउँछन्। 

बिहीबार भरतपुरमा आयोजित सभामा एमाले अध्यक्ष केपी ओली। फोटो : रासस
एमाले नेता शंकर पोखरेल भने भरतपुरमा एमालेविरुद्ध कांग्रेस र माओवादी गठबन्धन भएकै कारण घरदैलो कार्यक्रमबाट माथि उठेर एमालेले सभा गरेको बताउँछन्। केन्द्रीकृत सभा गर्ने तयारी नै पार्टीले नगरेको उनले बताए। 

'भरतपुरमा कांग्रेस र माओवादीले प्रतिष्ठाको विषय बनाएकाले हामीले सभा गर्नुपर्ने आवश्यकता भयो। अन्यथा हामीले जनताको घरदैलो ने प्राथमिकतामा राखेका थियौँ', पोखरेल एमालेको शक्ति भरतपुरकेन्द्रित हुनुको कारणबारे बताउँछन्। 

'प्रतिष्पर्धी कसरी आउँछन् त्यही अनुसारको तयारी हाम्रो हो। दुई पार्टीको संयुक्त सभा हुँदा एमालेले सभा गरेन भन्ने पर्ला भनेर हो। कार्यकर्ताको माग हो', पोखरलले दावी गरे, ' हामी चितवन जित्दैछौँ।' 

स्थानीय तहको पहिलो चरणको निर्वाचनको मौन अवधि सुरु हुनु केही घण्टा अघि चितवनमा बिहीबार दलहरुले चुनावी सभा गरे। कांग्रेस सभापति देउवाले रेणु दाहाललाई मत मागे। अनि प्रधानमन्त्री प्रचण्डले गठबन्धनको निरन्तरताको विषय जोडे। 

एमाले अध्यक्ष ओलीले भने गठबन्धनलाई 'टाउकोको मोल तोक्नेले छोरीलाई (प्रचण्ड पुत्रीलाई)काँधमा बोकेको' भन्दै कटाक्ष गरे। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell