PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

राष्ट्रपति भण्डारी थाइल्याण्ड प्रस्थान, श्रीलंकामा राष्ट्रसंघीय सम्मेलनमा पनि सहभागी हुने



पहिलोपोस्ट

राष्ट्रपति भण्डारी थाइल्याण्ड प्रस्थान, श्रीलंकामा राष्ट्रसंघीय सम्मेलनमा पनि सहभागी हुने

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी आज श्रीलंका र थाइल्याण्डको औपचारिक भ्रमणमा प्रस्थान गरेकी छन्। पाँचदिने औपचारिक भ्रमण अन्गर्तत राष्ट्रपति थाइल्याण्डबाट शनिबार श्रीलंका जाने कार्यक्रम छ। राष्ट्रपतिको एक दिन थाइल्याण्डमा बित्नेछ।

राष्ट्रपति भण्डारी बिहान १०:१५  बजे थाइल्याण्ड प्रस्थान गरेकी हुन्। विमानस्थलमा भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, अर्थमन्त्री कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री प्रकासशरण महत तथा मुख्यसचिव डा. सोमलाल सुवेदी लगायतले विदाई गरेका हुन्।

राष्ट्रपति भण्डारी बुद्धजयन्तीका अवसरमा श्रीलंका सरकारले आयोजना गरेको राष्ट्रसंघीय विशेष सम्मेलनको प्रमुख अतिथिका रुपमा श्रीलंका जान लागेकी हुन्। श्रीलंकामा हुने उक्त सम्मेलनमा छिमेकी भारतसँगै दक्षिण एसियाका उच्च पदस्थ नेताहरु उपस्थित हुनेछन्। राष्ट्रपति भण्डारीले आइतबार श्रीलंकामा सम्मेलनमा प्रमुख अतिथिका रुपमा समापन मन्तव्य दिने कार्यक्रम छ। 

भ्रमणका दौरान राष्ट्रपति भण्डारीले श्रीलंकाका समकक्षी मैत्रीपाल सिरिसेनासँग पनि भेट गर्ने कार्यक्रम छ। भण्डारी सिरिसेनाको निमन्त्रणमा नै श्रीलंका जान लागेकी हुन्।

थाइल्याण्ड भ्रमणका क्रममा राष्ट्रपतिले थाई राजासँग भेटघाटको कार्यक्रम छ। यस्तै, थाइल्याण्डको ग्रान्ड प्यालेसमा राखिएको स्वर्गीय राजा भूमिबल अदुल्यादेजको पार्थिव शरीरमा श्रद्धाञ्जली दिने कार्यक्रम पनि छ। 

भ्रमण टोलीमा सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकी, परराष्ट्र सचिव शंकरदास बैरागी, राष्ट्रपतिका परराष्ट्र सल्लाहाकार मदनकुमार भट्टाराई, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल लगायत छन्। 

भण्डारी जेठ २ गते राति स्वदेश फर्कन कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell